सर्वोच्च अदालतको आदेशमा रिहा भएका दुर्गा प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि ल्याएर थुन्न चुनाैती दिएका छन्।
पूर्वराजा शाहले पनि चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएको जिकिर गर्दै, दम भए राजालाई पनि पक्राउ गरेर थुन्न सरकार र प्रशासनलाई चुनौती दिएका हुन्।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुट्नासाथ सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रसाईंले आफूलाई मात्र निसाना बनाइएकोमा आपत्ति जनाए।
प्रसाईंले प्रश्न गरे, ‘राजाले पनि चुनाव हुँदैन भनिसक्नुभयो। मलाई थुन्नेले राजालाई पनि ल्याएर थुनुन्। के दम छ गृहमन्त्री ओमप्रकाश अर्यालसँग ? के दम छ काठमाडौंका सिडिओ र निर्वाचन आयुक्तसँग ?’
उनले आफूले बोल्दा पक्राउ गरिएको तर सोही प्रकृतिको अभिव्यक्ति अरूबाट आउँदा प्रशासन मौन बसेको भन्दै विभेदपूर्ण व्यवहारको भएकाे बताए।
‘राजाकै शैलीमा मैले पनि चुनाव हुँदैन भन्दा मलाई चाहिँ समात्ने ? यदि साच्चै कानुन लाग्छ भने राजालाई पनि थुनेर देखाउनुस्,’ उनले चुनौती दिए।
प्रसाईंले आसन्न निर्वाचन देश सिध्याउने डिजाइन भएको दाबी गरे। उनले यो चुनावले नेपाललाई युक्रेनको बाटोमा लैजाने खतरा औंल्याउँदै जनतालाई निर्वाचन बहिष्कार गर्न अपिल गरे।
‘साँच्चै भात खाने नेपाली जनता हुन् भने यो चुनावमा भोट हाल्न जाँदैनन्,’ उनले भने।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामा राख्ने आधार र कारण कानुनसम्मत नदेखिएको भन्दै मंगलबार नै रिहा गर्न आदेश दिएको थियो।
सोही आदेशबमोजिम प्रक्रिया पूरा गरी उनी आज रिहा भएका हुन्।
प्रकाशित: १३ फाल्गुन २०८२ १५:२२ बुधबार





