सर्वोच्च अदालतको आदेशमा हिरासतमुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई राज्यले पुनः पक्राउ गर्न सक्ने बताएका छन्।
तर, देश र जनताको पक्षमा बोल्दा जस्तोसुकै मूल्य चुकाउन पनि आफू तयार रहेको उनले उद्घोष गरे।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट छुट्नासाथ सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रसाईंले आफू नडराउने र विचलित नहुने बताए।
प्रसाईंले भने, ‘मलाई फेरि पनि समात्न सक्छन्, म तयार छु। तर म रुन्नँ, मेरो आँखाबाट आँसु झर्दैन। देशको अवस्था देखेर मेरो हृदय भने फुटेको छ।’
उनले आफूलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सत्य बोल्दा राज्यले दमन गर्न खोजेको आरोप लगाए।
सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा राख्ने प्रक्रिया र आधार कानुनसम्मत नदेखिएको भन्दै बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको थियो।
मंगलबार नै रिहा गर्न आदेश दिए पनि प्रक्रियागत कारण देखाउँदै प्रहरीले उनलाई बुधबार मात्र रिहा गरेको हो।
रिहालगत्तै प्रसाईंले आसन्न निर्वाचनको आलोचना गर्दै उनले यो चुनाव देशको हितमा नभई विदेशी इशारामा देश सिध्याउन र नेपाललाई युक्रेनको बाटोमा लैजान हुन लागेको जिकिर गरे।
‘यो चुनाव भएको दिनदेखि नेपाल युक्रेनको बाटोमा गयो। यो देश सिध्याउने डिजाइन हो,’ उनले भने।
प्रकाशित: १३ फाल्गुन २०८२ १५:०८ बुधबार





