२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
निर्वाचन विशेष

मौन अवधिभर मदिरा बिक्रीवितरण र सेवनमा प्रतिबन्ध

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन र होली पर्वलाई लक्षित गर्दै कपिलवस्तुमा मदिरा बिक्रीवितरण र सेवनमा रोक लगाइएको छ। फागुन १८ गते राति १२ बजेदेखि २१ गते रातिसम्म मदिरा बिक्री वितरणमा रोक लगाइएको हो।

होली र निर्वाचनलाई लक्षित गरी जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सोसहित ११ बुँदे निर्णय गरेको हो। बैठकमा फागुन २१ गते सम्पन्न हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र शान्तिपूर्ण बनाउन सबै राजनीतिक दल, उम्मेदवार, धार्मिक सङ्घसंस्था तथा सरोकारवालाले पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्ने, मौन अवधि (फागुन १८ गते राति १२ बजेदेखि) विशेष सावधानी अपनाउने तथा आपसी सद्भाव र धार्मिक सहिष्णुता कायम राख्ने निर्णय गरिएको छ। निर्वाचन पूर्वावधिमा पर्ने होली पर्वलाई मध्यनजर गर्दै संयमित रूपमा पर्व मनाउने, ठुलो भिडभाड नगर्ने तथा मौन अवधिभर मदिराको उत्पादन, बिक्री वितरण, ओसारपसार र सेवनमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरिएको छ। रङ, अबिर वा पानी प्रयोग गर्दा कसैको इच्छा विपरीत जबरजस्ती नगर्ने र व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्नेमा जोड दिइएको छ। 

बैठकमा सहभागी नेताहरूले होलीका समयमा मादक पदार्थ सेवन (मापसे) तथा लागूऔषध प्रयोगका कारण होहल्ला र अवाञ्छित गतिविधि बढ्न सक्ने सम्भावनाप्रति चिन्ता व्यक्त गरे। मापसे र लागूऔषध प्रयोगको प्रवृत्ति न्यूनीकरण गर्न कडाइका साथ अनुगमन गर्नुपर्ने बताए। कपिलवस्तु मुस्लिम समुदायको पनि बसोबास रहेको संवेदनशील जिल्ला भएकाले प्रशासनले विशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए। 

सामाजिक सञ्जाल वा अन्य सञ्चार माध्यममार्फत उत्तेजक, भ्रामक वा शान्ति सुरक्षामा असर पार्ने सामग्री प्रसारण नगर्ने, सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षणमा विशेष ध्यान दिने र निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तथा प्रचलित कानुनको पूर्ण पालना गर्दै प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर अघि बढ्ने निर्णय बैठकले गरेको छ। प्रजिअ जनार्दन गौतमले निर्वाचनको पूर्व सन्ध्यामा होली परेकाले सभ्य रूपमा मनाउन आग्रह गरे। यस्तै निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सबैले साथ दिनुपर्ने उनले बताए।

प्रकाशित: १३ फाल्गुन २०८२ २०:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App