१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

सर्लाही–१ मा पुरानै समस्या र अजेन्डा

सर्लाही–१ मा चुरेको विकट बस्तीदेखि जिल्लाकै प्रमुख व्यापारिक केन्द्र लालबन्दी र बयलबास पर्ने भए पनि यहाँका समस्याप्रति नेताहरू उदासीन रहेको पाइएको छ । यस क्षेत्रका अधिकांश मतदाता कृषि पेसामा आबद्ध छन् । तर उनीहरूका समस्या सम्बोधन गर्छौं भनेर दल र उम्मेदवारले आश्वस्त पार्न सकेका छैनन् ।

सर्लाही–१ का मुख्य मुद्दा सडक, खानेपानी, सिँचाइ, शिक्षा, कृषि, स्वास्थ्य, बेरोजगारी हुन् । यी मुद्दा पुरानै हुन् । हरेक निर्वाचनमा उम्मेदवारले यिनै अजेन्डा उठाउँदै आए पनि सम्बोधन नहुँदा जनता निरास छन् ।

सर्लाही–१ मा २८ उम्मेदवार प्रतिस्पर्धामा छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बिच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ। कांग्रेसबाट शम्भुलाल श्रेष्ठ, एमालेबाट मनोजकुमार देवकोटा, नेकपाबाट प्रमोद साह, रास्वपाबाट नीतिमा कार्की, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामप्रकाश चौधरी उम्मेदवार छन् । यीमध्ये शम्भुलाल, प्रमोद र चौधरी पूर्वप्रतिनिधिसभा सदस्य हुन् ।

२०७९ सालको निर्वाचनमा गठबन्धनका तर्फबाट तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका रामप्रकाश चौधरी (हाल जसपा) २४ हजार ८३८ मत प्राप्त गरी निर्वाचित भएका थिए । उनलाई गठबन्धनबाट कांग्रेस र तत्कालीन नेकपा एकीकृत समाजवादीले साथ दिएका थिए । उनलाई पछ्याएका स्वतन्त्र उम्मेदवार मानबहादुर खड्काले १८ हजार ४०४ मत प्राप्त गरेका थिए । चौधरी यसपालि पनि जित निकाल्ने भन्दै उम्मेदवार बनेका हुन् ।

सर्लाही–१ मा एक लाख ३० हजार ८७१ मतदाता छन्। चुरे भेगको सिन्धुलीसँगको सीमादेखि मधेसको समथर भूभागसम्म पर्ने सर्लाही–१ मा चन्द्रनगर गाउँपालिका सबै (१–७), लालबन्दी नगरपालिका सबै (१–१७), ईश्वरपुर नगरपालिकाको १५ बाहेक सबै (१–१४), हरिपुर नगरपालिकाको १ बाहेक सबै (२–९), कविलासी नगरपालिका–१, २ र ७ नम्बर वडा पर्छन् । सर्लाही–१ का अधिकांश मतदाता कृषि पेसामा आबद्ध छन्। यो क्षेत्रमा मुख्य समस्या खानेपानी अभाव र सिँचाइ समस्या भएको स्थानीय बताउँछन् । 

सर्लाही–१ मा कृषि विश्वविद्यालय स्थापना, सुनकोसी–मरिण सिँचाइ आयोजनाको पानी वितरण, लालबन्दी–मरिण–नेपालथोक सडक सञ्जाल निर्माणलगायत मुद्दा केही समयदेखि उठ्दै आइरहेका छन् । चुनावी सरगर्मी बढ्दै जाँदा मतदाता भने उखु काट्ने, दलहन तथा तेलहन बाली थन्क्याउने, गहुँबालीमा मलखादको जो हो गर्ने काममा व्यस्त छन्।

सर्लाही–१ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सूर्यनारायण यादव, जनमत पार्टीबाट श्रीन्जय महतो, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट रमाकान्त कापर, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट लुमडीप्रसाद धिमाल, मंगोल नेसनल अर्गनाइजेसनबाट अमृतलाल बोम्जन, नेपाल जनता संरक्षण पार्टीबाट जितेन्द्रप्रसाद साह रौनियार, नेपाल जनता पार्टीबाट इनरजित साह तेली, श्रम संस्कृति पार्टीबाट सुमन हरि अधिकारी, उज्यालो अभियान पार्टीबाट छत्रबहादुर डुम्जन, बहुल एकता पार्टी नेपालबाट राजाराम पासवान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट टेकबहादुर श्रेष्ठ, राष्ट्रिय मुक्ति पार्टी नेपालबाट विकासकुमार ठाकुर, राष्ट्रिय निर्माण दल नेपालबाट तैयव मन्सुर र आम जनता पार्टीबाट मो.अस्फाक उम्मेदवार छन् ।

प्रकाशित: १३ फाल्गुन २०८२ २०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App