२२ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

अब १८ देखि ३५ वर्षसम्मका व्यक्तिलाई मात्र ‘युवा’ भनिने

एआईको सहयोगमा बनाइएको सांकेतिक तस्बिर।

अब युवाको उमेर अब १८ देखि ३५ सम्म कायम हुने भएको छ।

सरकारले हालै ‘राष्ट्रिय युवा नीति– २०८२’ स्वीकृत गरेसँगै युवाको उमेर १८–३५ कायम हुने राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए।

यसअघि ‘राष्ट्रिय युवा नीति–२०७२’ अनुसार युवाको उमेर १६–४० वर्ष रहेको थियो। सरकारले नयाँ युवा नीति जारी गरेको हो।

राष्ट्रिय युवा नीतिमा ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश अनुकूल हुने गरी नेपालको सन्दर्भमा १८ देखि ३५ वर्षको उमेर समूहको जनसङ्ख्यालाई युवा मानिने, भनेर उल्लेख छ।

विसं २०७८ सालको जनगणना अनुसार नेपालमा १६ देखि ४० वर्षसम्मको जनसङ्ख्या ४२.५६ प्रतिशत थियो। परिषद्का कार्यकारी उपाध्यक्ष बस्नेतले अब नयाँ युवा नीति अनुसारको युवाको जनसङ्ख्या निकाल्न आग्रह गरेका छन्।

बालबालिकासम्बन्धी ऐनमा बालबालिकाको उमेर १८ सम्म भएको हुनाले १८ वर्षदेखि ३५ उमेर समूहलाई युवामा राखिएको बताए।

संयुक्त राष्ट्र सङ्घले १५ देखि २४ वर्ष उमेर समूहलाई युवा भनेर परिभाषा गरेको छ। भारतमा १५ देखि २४ वर्षको उमेर समूहलाई युवा मान्दै आएको छ।

परिषद्का उपाध्यक्ष बस्नेतले ‘राष्ट्रिय युवा परिषद् ऐन–२०७२’ संशोधन नभएसम्म युवाको उमेर कानुनी रुपमा भने १६ देखि ४० वर्ष हुने बताएका छन्।

युवा नीति अनुसार ऐन संशोधन गर्नुपर्ने माग उनको छ। प्रत्येक पाँच पाँच वर्षमा युवा नीति परिमार्जन गर्नुपर्ने भएपनि १० वर्षपछि नीति संशोधन गरिएको हो।

प्रकाशित: १२ भाद्र २०८२ १३:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App