सरकारले सुत्केरीका लागि तीन महिना बिदा दिने गरेको छ। निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन्। यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ।
तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस् वा पेसा व्यवसायमा लाग्नेहरूले चाहेर पनि आफ्ना सन्तानलाई आवश्यक मात्रामा स्तनपान गराउन पाएका हुँदैनन्। काम गर्ने थलोमा स्तनपान गराउने ठाउँको अभाव हुने गर्दछ।
इलाम घर भएर व्यावसायिक कीट विकास केन्द्र भण्डारामा कार्यरत सुरुचि त्रिपाठीको शिशु अहिले एक वर्ष छ महिना पूरा भएको छ। उनी कृषि विकास कार्यालय चितवनमा कार्यालयमा हुँदा शिशु जन्माइन्। शिशु जन्मिएपछि तीन महिना नियमित आमाको दूध खुवाएको भए पनि पछि कार्यालयको कामको चापले नियमित स्तनपान गराउन पाइन। उनले भनिन्, “घर र कार्यालयमा सहयोग गर्ने व्यक्ति भयो भने सहज हुने रहेछ।”
कार्यालयमा कार्यालय प्रमुख कस्तो छ भन्नेमा भर पर्नुपर्ने हुँदा समस्या हुने उनको भनाइ छ। टाढा घर हुनेलाई बच्चाको हेरचाहदेखि नियमित स्तनपानको समस्या हुने गरेको उनले बताइन्। बच्चा आमाको दूधमा निर्भर हुने समयमा बच्चा छाडेर जाँदा उसको शारीरिक वृद्धिमा समेत समस्या हुने गरेको उनले बताइन्।
बच्चाको सुनौलो एक हजार दिन भन्ने गरिए पनि सरकारी तथा निजी क्षेत्रमा कार्यरत आमाहरूलाई स्तनपान गराउन समय नमिल्ने उनले बताइन्।
पत्रकार प्रतिमा सिलवाल आफूले छोरालाई चार महिना मात्र नियमित स्तनपान गराउन पाएको बताइन्। काठमाडौंमा बसेर काम गर्दै गर्दा कार्यालय टाढा भएकाले दिउँसोको समयमा स्तनपान गराउन नपाएको गुनासो गरिन्। उनले भनिन्, “एकातर्फ मलाई गाह्रो हुन्थ्यो, अर्काेतर्फ बाबुलाई ल्याक्टोजिन खुवाउनुपर्थ्याे।” आफूलाई जस्तै धेरै आमाले यो समस्या भोगिरहेको सिलवाल बताउँछन्।
भरतपुर महानगरपालिका-९ शरदपुर निवासी स्वस्तिका चौहानको पनि समस्या उस्तै छ। शिशु जन्मिएको तीन महिनादेखि कार्यालयको काममा आएकी उनको बच्चा अहिले एक वर्ष छ महिनाको छ। नजिकै घर भएकाले त्यस्तो ठूलो समस्या नभए पनि महिला कर्मचारीलाई बच्चा जन्मिएपछि समस्या हुने गरेको उनले बताइन्।
सरकारी कर्मचारी उनी बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म कार्यालयमा काममा हुँदा बच्चालाई आवश्यकता अनुसार स्तनपान गराउन कठिन हुने बताउँछिन्। दुईदुई घण्टामा बच्चालाई स्तनपान गराउन जान समेत सम्भव नहुने हुँदा समस्या पर्ने गरेको उनको भनाइ छ।
चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. स्वेच्छा अधिकारी स्तनपान बच्चाको पहिलो र महत्त्वपूर्ण आहार भएको बताउँछिन्। उनले भनिन्, “यो खाना मात्र होइन, रोगसँग लड्ने शक्ति दिने प्राकृतिक औषधि पनि हो।”
स्तनपान बच्चा र आमाका लागि अमूल्य उपहार भएको बताउँदै डा. अधिकारीले भनिन्, “आमाको दूध सिधै स्तनबाट बच्चालाई दिइन्छ। यसमा कुनै तयारी गर्नु पर्दैन, तापक्रम पनि बच्चाका लागि उपयुक्त हुन्छ र यो पूर्ण रूपमा सङ्क्रमणमुक्त हुन्छ।”
आमाको दूधमा बच्चाको रोगसँग लड्ने क्षमतालाई बढाउने तत्त्वहरू हुने जनाउँदै उनले स्तनपान गराइएका शिशुहरूको मस्तिष्क विकास अन्यकाे भन्दा बढी राम्रो हुने बताइन्। उनले भनिन्, “आमाको दूधमा यस्तो तत्त्व हुन्छ जुन न्यूरोलोजिकल विकासमा सहयोग गर्छ, जुन गाई वा अन्य दूधमा हुँदैन।”
बच्चालाई आमासँग नजिक हुनु, सुरक्षित महसुस हुनु र मायाको अनुभूति हुनु यहींबाट सुरु हुने उनको भनाइ छ। डा. अधिकारीले भनिन्, “पूर्ण रूपमा स्तनपान गरेको बच्चामा एलर्जी, दम, पेटको सङ्क्रमण, मोटोपन, मधुमेह, उच्च रक्तचाप र मुटुका रोगहरू कम हुने सम्भावना हुन्छ।”
बच्चालाई मात्र नभएर स्तनपानले आमालाई पनि फाइदा हुने उनको भनाइ छ। डा. अधिकारीका अनुसार बच्चा जन्मेपछि जब आमाले स्तनपान सुरु गर्छिन्, तब पेटको बच्चा बस्ने अङ्ग (गर्भाशय) खुम्चिन थाल्छ। यसले गर्दा धेरै रगत बग्ने सम्भावना घट्छ र आमाको शरीर चाँडै ठीक हुन मद्दत हुन्छ।
स्तनपान प्राकृतिक गर्भनिरोधक हुने बताउँदै डा. अधिकारीले क्यान्सरको जोखिम घटाउने बताइन्।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा. खेमप्रसाद पौडेलले स्तनपानका फाइदा बुझाउन आवश्यक रहेको बताए। नवजात शिशुलाई दुई वर्षसम्म स्तनपान गराउनुपर्ने उनले बताए। शिशुहरूको राम्रो वृद्धिविकासका लागि महत्त्वपूर्ण आमाको दूध खुवाउन आवश्यक व्यवस्थापनमा सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ।
कार्यालयमा अनिवार्य रूपमा स्तनपान कक्ष हुनुपर्ने, स्तनपान गराउने आमाहरूलाई अतिरिक्त समय व्यवस्थापन गरिदिनुपर्ने, आम नागरिकले आफ्नो ठाउँबाट स्तनपान गराउन सहयोग गरिदिनुपर्ने उनको सुझाव छ।
प्रकाशित: २१ श्रावण २०८२ १२:१९ बुधबार





