सन् २०२५ मा नेपालमा ११ लाख ५८ हजार ४ सय ५९ जना विदेशी पर्यटक हवाई मार्गबाट भित्रिए। पाहुना आगमनको यो संख्या अघिल्लो वर्ष (२०२४ मा) ११ लाख ४७ हजार ५ सय ४८ थियो। नेपालमा अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा बढी पर्यटक २०१९ मा भित्रिएका थिए। २०१९ मा नेपालमा ११ लाख ९७ हजार १ सय ९१ जना विदेशी पर्यटक भित्रिएका थिए।
पर्यटन बोर्डका अनुसार २०२५ को आगमनमा अघिल्लो वर्षको तुलनामा १ प्रतिशत मात्र वृद्धि भएको छ। तर, २०१९ को तुलनामा भने ३ प्रतिशत कमी छ। २०२४ को तुलनामा २०२५ मा कम्तिमा १० प्रतिशत आगमन बढाउने सरकारी लक्ष्य थियो। तर, त्यो लक्ष्य पनि पूरा हुन नसकेको बोर्डले बताएको छ। पर्यटन क्षेत्रमा ठूलो लगानी रहेको र त्यस अनुसार पाहुना भित्र्याउन नसकेको गुनासो व्यावसायिक क्षेत्रबाट हुँदै आएको छ।
सरकार र पर्यटन क्षेत्रले जति नै पहल गरेको भएपनि नेपालमा विदेशी पाहुनाको आगमन वर्षभरिमा १२ लाख छुन सकेको छैन। हरेक वर्ष सरकारले विदेशी पर्यटक भित्र्याउनका लागि पहल र ठूलो आकारको लगानी गरेको बताएपनि पाहुना आगमनको आकारले भने गति लिन सकेको छैन। पाहुना आगमनको त्यही आकार बढाउने उद्देश्यसहित पर्यटन क्षेत्रका लागि नयाँ रणनीति बनाउन थालिएको छ। पर्याप्त विदेशी पर्यटक भित्र्याएर आर्थिक लाभ दिलाउने गरी दीगो पर्यटन रणनीति बनाउने तयारीमा रहेको बोर्डको भनाइ छ।
पर्यटन बोर्ड र यूएनडिपीसँगको सहकार्यमा संचालित दीयो पर्यटन परियोजना (एसटिपी) मार्फत पर्यटन क्षेत्रका लागि नयाँ रणनीति बनाउन थालेको बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानले बताए। उनका अनुसार कम्तिमा १० वर्षको लागि बनाउन खोजिएको यो रणनीतिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजारीकरण गर्नमा सघाउनेछ भने त्यसको प्रभावस्वरूप विदेशी पर्यटकको आगमन बढ्नेछन। त्यत्ति मात्र नभई आन्तरिक पर्यटनलाई चलायमान बनाउन पनि नयाँ बन्ने रणनीतिले सघाउने उनले बताए।
‘अहिलेसम्मका रणनीतिबाट मात्र पर्याप्त पाहुना भित्र्याउन सकिएन। त्यसैले अब पर्यटक भित्र्याउन नयाँ रणनीति आवश्यक परेको हो। त्यसका लागि व्यावसायीसँग छलफल गर्दै सुझाव मागिएको छ,’ लामिछानेले भने, ‘नयाँ रणनीति बनेपनि त्यसै अनुसार पर्यटक भित्र्याउनका लागि पहल हुनेछ। नयाँ रणनीति अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन बजारमा प्रवद्र्धनात्मक गतिविधि गरिनेछ।’
लामिछानेका अनुसार काठमाडौं, सौराहा, लुम्बिनी र पोखराका व्यावसायीसँग पर्यटनको नयाँ रणनीतिका लागि आवश्यक सुझाव लिइएको छ। सबैतिरका व्यावसायीसँगको छलफलपछि नयाँ रणनीति बन्ने उनले बताए। उनका अनुसार अहिलेसम्म पर्यटन बोर्डले पाहुना भित्र्याउनका लागि विभिन्न देशमा आयोजना गरिने सेल्स मिसन र ट्रेड फेयरमा सहभागि हुने, रोडसो कार्यक्रम संचालन, विभिन्न मुलुकका दूतावाससँगको समन्वयमा पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दै आएको छ।
त्यसबाहेक विभिन्न मुलुकका चर्चित अनुहार, सेलिब्रेटी, ब्लगरलाई भित्र्याएर घुमाउने तथा सिएनन र बीबीसी जस्ता अन्तर्राष्ट्रिय संचारमाध्यममार्फत विज्ञापन पनि गर्ने गरिएको छ। त्यसबाहेक सामाजिक सञ्जाल सहित डिजिटल प्रविधिलाई पनि बजारीकरणका क्रममा उपयोग गर्ने गरिएको छ। ‘अहिलेसम्म बजारीकरण नै नभएको त होईन। तर, अब नयाँ ढंगबाट जानुपर्ने आवश्यकता देखिएको छ,’ उनले भने, ‘नयाँनयाँ चुनौती पनि पर्यटनमा थपिएका छन्। ती चुनौती पनि चिर्न जरुरी छ। प्रवद्र्धनमा नयाँ तरिका अपनाउन सकिएन भने नेपालको पर्यटन बजार पछाडि पर्ने सम्भावना रहेको छ।’
उनका अनुसार रणनीति बनाउनेबारेको उक्त छलफलमा व्यावसायीले विदेशी पर्यटनमाझ नेपाल पहिलो र रोजाईको गन्तव्य हुन नसकेकोले त्यही अनुसार रणनीति बनाउनु पर्ने सुझाव दिएका थिए। ‘विदेशी पर्यटकले नेपाल भन्दा भुटानलाई पहिलो प्राथमिकतामा राख्न थालेका छन्। त्यसैले अब पर्यटन गतिविधि संचालन गरिँदा दीगो पर्यटन हुनेगरी बजारीकरण गर्नुपर्छ भन्ने सुझाव व्यावसायीको रहेको छ,’ उनले भने।
उनका अनुसार नेपालमा दोहोरिएर आउने विदेशी पर्यटकको आकार घटेको पनि जानकारी दिएका थिए। कुनै बेला नेपालमा २७ प्रतिशत पर्यटक दोहोरिएर आउने गरेका थिए। तर, अहिले त्यो आकार घटेर ६ प्रतिशतमा झरेको भन्दै व्यावसायीले चिन्ता जनाएका थिए।
अहिलेसम्म नेपालले हिमाली क्षेत्र, आरोहण र पदयात्रालाई मात्र पर्यटकीय प्रडक्टको रूपमा बेच्दै आएकोमा अब योगा, ध्यान र धार्मिक पर्यटकलाई पनि आकर्षण बढाउनेगरी रणनीति बनाउनुपर्ने सुझाव दिएका छन्। त्यसबाहेक लामो अवधि बस्नेगरी आउने पर्यटकका लागि भिसामा सहजता दिलाउन पनि जरुरी रहेको उनीहरुको भनाइ छ।
‘अबको प्रवद्र्धनमा एआईको सहयोग लिनेबारे व्यावसायीले सुझाएका छन्,’ उनले भने, ‘नेपाल पदयात्राको गन्तव्य मात्र नभई विदा मनाउनका लागि जाने ठाउँको रूपमा पहिचान बदल्नुपर्ने आवश्यकता छ।’ त्यसबाहेक धार्मिक पर्यटक आउजाउ गर्ने रुटका पाहुनाका लागि आवश्यक पर्ने पूर्वाधारमा ध्यान दिनुपर्ने पनि व्यावसायीले सुझाएको उनले बताए।
पर्यटन व्यावसायीको तर्फबाट सुझाव दिएका पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष धर्मराज पन्थीले समय अनुसार नयाँ प्रविधिबाट ब्राण्डिङ गर्नुपर्ने बताए। त्यसबाहेक पोखरामा हुँदै आएका केही गतिविधि अहिले हुन छाडेकोले ती गतिविधिलाई बढाउनुपर्ने पनि सुझाएका छन्। धौलागिरी क्षेत्रको प्रवद्र्धनमा पनि उत्तिकै जोड दिनुपर्ने उनले सुझाए। पोखरा र गण्डकीको समग्र पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि भिन्दै तरिकाले बजेट दिनुपर्ने पनि पन्थीले सुझाएका थिए।
‘आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि भिन्दाभिन्दै एकाई बोर्डभित्र हुनुपर्छ। एउटै निकाय भएपनि भिन्दाभिन्दै एकाई मार्फत प्रवद्र्धनका गतिविधि गर्नुपर्छ,’ उनले भने, ‘ठाउँ र लक्षित पाहुना अनुसारको प्रवद्र्धन गर्नुपर्छ। भारत र यूरोपमा एकैखालको प्रवद्र्धन अभ्यास उपयुक्त हुँदैन। भारत र यूरोपबाट आउने पाहुना फरक स्वभावका हुने भएकोले प्रवद्र्धनमा पनि त्यस्तै तरिका अपनाउनुपर्छ।’
दीगो पर्यटन परियोजनाको राष्ट्रिय परियोजना व्यवस्थापक धर्म दवाडीले पनि समग्रमा नेपालमा पर्यटक भित्र्याउनका लागि आवश्यक रणनीति बनाउनेबारे सुझाव संकलन गरिएको बताए। उनका अनुसार पोखराका लागि भिन्दै रणनीति आवश्यक पर्ने भनेर पनि व्यावसायीले सुझाव दिएका छन्। दवाडीका अनुसार अब बन्ने रणनीति चैतपछि कार्यन्वयनमा आउनेछ। किनकी फागुनमा निर्वाचन भएपनि नयाँ सरकार बन्ने र त्यसपछि यसलाई कार्यन्वयन गर्ने उनले बताए।
‘आन्तरिक र विदेशी पर्यटकका लागि फरक फरक रणनीति आवश्यक पर्छ। एकैखालको प्रवद्र्धन अभ्यासले अपुग हुने व्यावसायीको धारणा छ। त्यही अनुसार अबको रणनीति बन्नेछ,’ उनले भने, ‘हिजोका राम्रा अभ्यासलाई भोलिका दिनमा पनि उपयोग गर्ने र नयाँ रणनीति पनि पहिचान गरिनेछ। जसले भविष्यमा नेपालमा अहिलेको भन्दा बढी संख्यामा पाहुना भित्र्याउन सघाउनेछ।’
प्रकाशित: ११ माघ २०८२ १८:४३ आइतबार





