बाँकेको कोहलपुर कुनै समय सुनसान, जङ्गलबिचको सानो बस्ती थियो। नजिकै रहेको नेपालगन्ज पुरानै समयदेखि व्यापारिक र प्रशासनिक केन्द्रका रूपमा गुलजार भइरहँदा कोहलपुर भने यात्रुहरूका लागि बाटो पर्ने स्थान मात्र थियो।
तर, आज स्थिति पूर्ण रूपमा बदलिएको छ। योजनाबद्ध विकास, पूर्वाधार विस्तार र रणनीतिक स्थानका कारण कोहलपुर पश्चिम नेपालको उदीयमान सहरका रूपमा स्थापित छ।
कोहलपुरको विकासको जग तत्कालीन राजा वीरेन्द्रको पहलमा राखिएको मानिन्छ। बहुदल आउनुअघि नै यहाँ व्यवस्थित सहर बसाल्ने लक्ष्यसहित टाउन प्लानिङ गरिएको थियो। करिब ८० बिघा सरकारी जमिनमा गरिएको प्लानिङले भविष्यको कोहलपुरको स्वरूप निर्धारण गर्यो।
सुरुमा प्लट बिक्री भए पनि तत्काल घर निर्माण नहुँदा सहर विस्तारले गति लिन सकेको थिएन। तर समय क्रममा स्वास्थ्य, शिक्षा र यातायात क्षेत्रको विकाससँगै कोहलपुरले नयाँ गति पायो। विशेष गरी २०५२ सालमा मेडिकल कलेज स्थापना भएपछि कोहलपुरमा बसोबास र आर्थिक गतिविधि तीव्र रूपमा बढ्न थाले। यससँगै आवासीय घर, व्यापारिक संरचना र सेवा क्षेत्र विस्तार हुँदै गए।
आज टाउन प्लानिङ क्षेत्र पूर्ण रूपमा भरिएको छ भने बाहिरी क्षेत्रमा समेत बस्ती तीव्र गतिमा फैलिएको छ। कोहलपुर अब आवासीय सहर मात्र नभई व्यावसायिक केन्द्रका रूपमा पनि विकसित भइरहेको छ।
कोहलपुरको विकासमा सबैभन्दा ठुलो योगदान यातायात पूर्वाधारको छ। पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग र नेपालगन्ज–सुर्खेत जोड्ने रत्न राजमार्गको संगमस्थल भएकाले यो सहर रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण छ।
मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लामा जाने मुख्य प्रवेशद्वारका रूपमा कोहलपुर परिचित छ। यही कारण यहाँ व्यापार, यातायात र सेवा क्षेत्र द्रुत गतिमा विस्तार भएका छन्।
हाल रुपैडिहा–नेपालगन्ज–कोहलपुरसम्म चार लेन सडक छ। यो सडक कोहलपुरलाई भारतीय बजार र नेपालगन्ज सहरलाई झनै नजिक ल्याएको छ। यसले भविष्यमा महानगरको अवधारणालाई समेत बल पुर्याएको छ। सडक पूर्वाधारको यो विस्तारले कोहलपुरलाई क्षेत्रीय ‘ट्रान्जिट हब’का रूपमा स्थापित गरेको छ।
यातायात पूर्वाधारकै अर्को महत्त्वपूर्ण उपलब्धि आधुनिक बसपार्क निर्माण हो। करिब ३० करोडभन्दा बढी लागतमा निर्माण गरिएको अत्याधुनिक बसपार्क अहिले कोहलपुरको पहिचान नै बनेको छ। पाँच बिघा १६ कट्ठा क्षेत्रफलमा फैलिएको यस बसपार्कमा लामो तथा छोटो दूरीका सयौँ यात्रु दैनिक आवतजावत गर्छन्।
बसपार्कमा व्यवस्थित पार्किङ, फरक फरक प्लेटफर्म, टिकट काउन्टर, व्यापारिक सटर, प्रतीक्षालय, स्तनपान कक्ष, शौचालयजस्ता सुविधा उपलब्ध छन्। यात्रुको सहजताका लागि विद्युतीय सवारी चार्जिङ स्टेसनसमेत निर्माण गरिएको छ। धूम्रपान नियन्त्रण, सुरक्षाकर्मीको व्यवस्था र राति उज्यालोका लागि हाइमास्ट लाइटले यसलाई आधुनिक र व्यवस्थित बनाएको छ।
यस बसपार्कले यातायात व्यवस्थापन मात्र सुधार गरेको छैन, कोहलपुरको समग्र सहरी छविलाई पनि उकासेको देखिन्छ। पर्यटन पूर्वाधारतर्फ पनि कोहलपुरले फड्को मारेको छ।
गोलपार्क क्षेत्रमा निर्माण गरिएको भ्यु टावर सहरको अर्को आकर्षण बनेको छ। करिब ५ करोड ८८ लाख लागतमा निर्माण गरिएको १० तले टावरले काठमाडौंको धरहराको झल्को दिन्छ। यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा गरिएको छ।
सहरी योजना अनुसार राजमार्ग किनारमा घर निर्माण रोकिएकोले कोहलपुरका सडक फराकिला र आकर्षक देखिन्छन्। यो अन्य धेरै सहरका लागि सिकाइको विषय बनेको छ। व्यवस्थित प्लानिङका कारण यहाँको आवासीय क्षेत्र पनि सुन्दर र सन्तुलित देखिन्छ।
कोहलपुर टाउन प्लानिङ क्षेत्र व्यवस्थित सहरी विकासको उदाहरणका रूपमा देखिन्छ। यहाँ फराकिला र चिल्ला सडक निर्माण गरिएको छ, जसले यातायात आवागमनलाई सहज बनाएको छ। सडकका बिचबिचमा राखिएका हरियालीयुक्त पार्कहरूले सहरको सौन्दर्य मात्र बढाएको छैन, वातावरणीय सन्तुलनमा पनि योगदान पुर्याएको छ।
योजनाबद्ध बसोबास र पूर्वाधार निर्माणका कारण यो क्षेत्र अन्य सहरी क्षेत्रभन्दा फरक र आकर्षक देखिन्छ। खुला स्थान, व्यवस्थित प्लटिङ र हरियाली संरचनाले कोहलपुरलाई आधुनिक सहरको पहिचान दिएको छ। यसले यहाँको जीवनशैलीलाई पनि व्यवस्थित र सहज बनाउँदै कोहलपुरलाई पश्चिम नेपालको उदीयमान सहरी केन्द्रका रूपमा स्थापित गरिरहेको छ।
साथै, सरकारी कार्यालयका लागि छुटाइएको जग्गा, सिटी सेन्टरको अवधारणा, पार्क र घण्टाघर निर्माणका योजना जस्ता पहलहरूले कोहलपुरलाई दीर्घकालीन रूपमा व्यवस्थित सहर बनाउने दिशामा अघि बढाएको छ।
यद्यपि, चुनौतीहरू पनि उत्तिकै छन्। टाउन प्लानिङ क्षेत्र बाहिरको विस्तार अझै पनि योजनाविहीन देखिन्छ। अव्यवस्थित बसोबास, अनियन्त्रित प्लटिङ र पूर्वाधार अभावले भविष्यमा समस्या निम्त्याउन सक्ने देखिन्छ।
विज्ञहरूका अनुसार सहर विस्तारलाई व्यवस्थित गर्न स्थानीय सरकार अझै ‘भिजनरी’ हुन आवश्यक छ। नेपालगन्ज र कोहलपुर बिचको बढ्दो निकटताले क्षेत्रीय सहरीकरणलाई नयाँ मोड दिएको छ। दुई सहर जोडिएर ठुलो महानगर बन्ने सम्भावना बढ्दै गएको छ। तर यसका लागि सरसफाइ, ट्राफिक व्यवस्थापन, वातावरण संरक्षण र दीर्घकालीन योजना अपरिहार्य छन्।
तुलनात्मक रूपमा कोहलपुर सफा, व्यवस्थित र कम प्रदूषित देखिए पनि तीव्र सहरीकरणसँगै यसले पनि नयाँ चुनौती भोग्नुपर्नेछ। समग्रमा हेर्दा, कोहलपुरको पूर्वाधार विकास पश्चिम नेपालको सहरीकरणको सफल उदाहरणका रूपमा देखा परेको छ।
सडक, बसपार्क, आवासीय योजना, पर्यटन संरचना र सेवा क्षेत्रको विस्तारले यस सहरलाई नयाँ उचाइमा पुर्याएको छ। यदि योजनाबद्ध विकासलाई निरन्तरता दिन सकियो भने, कोहलपुर भविष्यमा क्षेत्रीय केन्द्र मात्र होइन, राष्ट्रिय स्तरकै प्रमुख सहरका रूपमा स्थापित हुने सम्भावना प्रबल देखिन्छ।
इतिहास र पहिचान बोकेको कोहलपुर आज विकासको नयाँ यात्रामा अघि बढिरहेको छ। ‘कोल’बाट नामकरण भएको यात्रा अहिले आधुनिक सहरसम्म पुगेको छ। पछिल्ला वर्षमा कोहलपुरले भौतिक पूर्वाधारतर्फ उल्लेखनीय फड्को मारेको छ।
प्रकाशित: १४ असार २०८३ १५:३८ आइतबार





