सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्यालले शुक्रबारदेखि अवकाश पाएका छन् ।
सो अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक, स्वयम्भूमा विशेष समारोह गरेर उनको बिदाई गरिएको छ । बिदाई कार्यक्रममा निवर्तमान महानिरीक्षक अर्यालले नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई संगठन प्रमुखको छडी र झण्डा हस्तान्तरण गर्दै औपचारिक रूपमा नेतृत्व सुम्पिएका छन्।
सो अवसरमा नवनियुक्त महानिरीक्षक पौडेलले अर्याललाई मायाको चिनो प्रदान गर्दै हार्दिक बिदाइ गरेका थिए।
समारोहमा निवर्तमान महानिरीक्षक अर्यालले नागरिक सुरक्षाको जिम्मेवारी बोकेको संगठनको सर्वोच्च पदमा पुग्नु र सफलतापूर्वक अवकाश हुन पाउनु जीवनको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले संगठनलाई परिवारका रूपमा लिँदै अनुशासन, त्याग, इमान्दारिता र नेतृत्वको मूल्य सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे।
उनले संगठन सुधार निरन्तर प्रक्रिया भएको भन्दै आफ्नो कार्यकालमा राष्ट्र, संगठन र जनताको सुरक्षालाई प्राथमिकतामा राखेर काम गरेको बताए। उनले सशस्त्र प्रहरीको बर्दीलाई “सज्जनका लागि भरोसा र अपराधीका लागि डर”को प्रतीक बनाउँदै लैजानुपर्नेमा जोड दिए।
नवनियुक्त महानिरीक्षक पौडेलले राष्ट्र सेवामा समर्पित जीवन कहिल्यै अवकाश नहुने उल्लेख गर्दै अर्यालको अनुभव र मार्गदर्शन आगामी दिनमा पनि संगठनका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। उनले सशस्त्र प्रहरी बललाई आधुनिक, सक्षम, व्यवसायिक र जनउत्तरदायी संगठनका रूपमा अघि बढाउने प्रतिबद्धता जनाए।
पौडेलले सुशासन, पारदर्शिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीतिलाई थप सुदृढ गर्दै संगठनको संस्थागत विकासमा जोड दिने बताए।
समारोहमा अवकाशप्राप्त पूर्व महानिरीक्षकहरू, अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा संगठनका वरिष्ठ र कनिष्ठ अधिकृतहरूको उपस्थिति रहेको थियो।
प्रकाशित: १८ वैशाख २०८३ १९:५४ शुक्रबार





