२० फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

बेलायत, क्यानाडा र अस्ट्रेलियालाई नेतान्याहुको चेतावनी : प्यालेस्टिनी राज्य हुने छैन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिएका छन्। 

अमेरिका भ्रमणपछि औपचारिक जवाफ दिने घोषणा गर्दै नेतान्याहुले भने, ‘त्यहाँ प्यालेस्टिनी राज्य हुने छैन। हाम्रो भूमिको मुटुमा आतङ्कवादी राज्य निर्माण गर्ने प्रयास अस्वीकार्य छ।’

प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकहरूले आतङ्कवादलाई ‘ठूलो पुरस्कार’ दिएको उनले आरोप लगाएका छन्। ‘अक्टोबर ७ को नरसंहारपछि प्यालेस्टिनी राज्यलाई मान्यता दिने नेताहरूलाई मेरो सन्देश छ–तपाईंहरूले आतङ्कवादलाई पुरस्कार दिइरहनुभएको छ । तर यो कहिल्यै सफल हुने छैन’, उनले भने। 

नेतान्याहुले अगाडि भने, ‘वर्षौंदेखि मैले आन्तरिक र बाह्य दबाबका बाबजुद आतङ्कवादी राज्य बन्न दिइनँ। हामीले यहुदिया र सामरियामा यहुदी बस्तीहरू दोब्बर बनाएका छौँ र यो मार्गमा निरन्तर अघि बढ्नेछौँ।’ अस्ट्रेलिया, क्यानाडा र बेलायतले संयुक्त रूपमा आइतबार प्यालेस्टिनी राज्यलाई मान्यता दिँदै दुई–राज्य समाधानको आह्वान गरेका थिए। 

यद्यपि तिनीहरूले हमासको तत्काल अन्त्य हुनुपर्नेमा पनि जोड दिएका छन्। अस्ट्रेलियाका प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अस्ट्रेलियाले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइनलाई मान्यता दिन्छ। यसो गर्दा हामी प्यालेस्टिनी जनताको आफ्नै राज्यप्रतिको वैध र लामो आकांक्षालाई स्वीकार्छौं।’ यसबिच, इजरायली विदेश मन्त्रालयले यस्ता घोषणाले शान्तिलाई कमजोर पार्ने र क्षेत्रलाई अझ अस्थिर बनाउने चेतावनी दिएको छ। 

मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘इजरायलले संयुक्त अधिराज्य र अन्य केही देशहरूले गरेको मान्यताको एकतर्फी घोषणा स्पष्ट रूपमा अस्वीकार गर्छ । यसले शान्तिलाई प्रोत्साहन गर्दैन, बरु भविष्यमा शान्तिपूर्ण समाधानको सम्भावनालाई कमजोर बनाउँछ।’ एएनआई

प्रकाशित: ६ आश्विन २०८२ १३:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App