१६ असार २०८३ मंगलबार
image/svg+xml
समाज

कृषि प्रधान देशमै चामल उद्योग आयातित धानमा निर्भर

कृषि प्रधान देश भनिए तापनि नेपालका चामल उद्योगहरू आयातित धानमै निर्भर हुनुपर्ने बाध्यता छ। स्वदेशी धानको उपलब्धता न्यून भएका कारण नेपाली चामल उद्योगहरूले पूर्ण क्षमतामा उत्पादन गर्न सकिरहेका छैनन्।

विराटनगरस्थित पुरानो चन्द्र शिव राइस एन्ड आयल मिलका सञ्चालक नरेश राठीका अनुसार कृषि प्रधान देश भएर पनि नेपाल धानचामलमा परनिर्भर छ। वि.सं. २०१७ सालमा स्थापना भएको उक्त मिल पूर्ण क्षमतामा सञ्चालन नहुँदा पनि आवश्यक धान भारतबाटै आयात गर्नुपर्ने बाध्यता छ।

नेपाली धानले बजारको माग पूरा गर्न नसक्ने भएकाले आयातित धानमा निर्भर हुनुपरेको सञ्चालक राठीले बताए। सरकारले कृषिलाई प्राथमिकता दिने भने तापनि त्यो केवल भाषण र घोषणामा मात्र सीमित हुँदा परनिर्भरता बढेको उनको बुझाइ छ।

मिलको उत्पादन क्षमता दैनिक एक सय टन रहेको छ। सञ्चालक राठीका अनुसार मिललाई आवश्यक पर्ने कच्चा पदार्थमध्ये ६० प्रतिशत नेपाली र ४० प्रतिशत धान भारतबाट आयात गर्ने गरिएको छ।

धान उत्पादनमा आत्मनिर्भर बन्न खेतीयोग्य जमिन बाँझो राख्न नहुने र व्यावसायिक खेती प्रणालीलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनको सुझाव छ।

यसैगरी, धानचामल उद्योगीहरूले सरकारलाई दिएका सुझावहरू सम्बोधन हुनुपर्ने उनले बताए। बजेट निर्माणअघि नै सुझाव दिए तापनि त्यसलाई बेवास्ता गरिएको राठीको गुनासो छ।

उद्योगीहरूले कच्चा पदार्थका रूपमा धान आयात गर्दा १ प्रतिशत मात्रै कृषि शुल्क लिन सुझाव दिएका थिए, तर हाल ५ प्रतिशत शुल्क लाग्ने गरेको उनले जानकारी दिए।

त्यस्तै, चामल आयात गर्दा हाल ९ प्रतिशत भन्सार महसुल लाग्ने गरेकोमा तयारी चामलको भन्सार शुल्क १५ प्रतिशत पुर्‍याउन उद्योगीहरूको माग छ।

चामल आयातको भन्सार दर बढाएमा चामल आयात घट्ने, धान आयात बढ्ने र स्वदेशी उद्योगहरू जोगिने उनको भनाइ छ। यसबाट रोजगारीसमेत सुरक्षित हुने राठीले बताए। नेपालले सस्तो धान आयात गर्ने र महँगो चामल निर्यात गर्ने नीति अवलम्बन गर्नुपर्ने आवश्यकता उनले औंल्याए।

नेपालबाट बास्मती धान निर्यात खोल्न सरकारसँग माग गरिए तापनि हालसम्म अनुमति नपाउँदा रैथाने बास्मती धान लोप हुने अवस्थामा पुगेको उनले बताए। नेपालको मोरङ्गी जातको बास्मती धानको भारतलगायत विश्वभर ठूलो माग छ।

तर, निर्यातको व्यवस्था नहुँदा यो लोपोन्मुख अवस्थामा पुगेको राठीले बताए। विदेशमा उच्च मूल्यमा बिक्री हुने धान निर्यातको व्यवस्था मिलाए किसानले राम्रो मूल्य पाउने र उत्पादनसमेत बढ्ने उनको दाबी छ।

सुनसरी–मोरङ करिडोरमा करिब दुई सयवटा साना र २५ वटा ठूला धानचामल मिल सञ्चालनमा छन्। यस क्षेत्रमा बर्सेनि करिब आठवटा नयाँ मिल खुल्ने र चारवटा बन्द हुने गरेका छन्।

धानको मूल्यको आधार भारतीय बजार

किसानले उत्पादन गरेको धानको मूल्य व्यापारीहरूले निर्धारण गर्ने परिपाटीप्रति नेपाली किसानहरूले वर्षौंदेखि असन्तुष्टि व्यक्त गर्दै आएका छन्। कोशी प्रदेशका व्यापारीहरूले विराटनगरका व्यापारीले तोकेको मूल्यलाई नै बजार मूल्यका रूपमा लिने गरेका छन् भने विराटनगरका व्यापारीले धानको दैनिक मूल्य निर्धारण गर्दा भारतीय बजारलाई आधार मान्ने गरेका छन्। भारतको बजार मूल्यमा केही रकम थप गरी नेपाली धानको मूल्य निर्धारण गरिने सञ्चालक राठीले जानकारी दिए।

नेपाल धानचामल व्यापारको हिसाबले सानो बजार हो। खुला सिमानाका कारण भारतीय बजारभन्दा धेरै सस्तो वा महँगो मूल्य तोक्न नसकिने उनले स्पष्ट पारे। नेपाली धान धेरै सस्तो भएमा निर्यातमा रोक लगाएको भए तापनि भारततर्फ चोरी–तस्करी हुने र नेपाली बजारमा अभाव सिर्जना हुने जोखिम रहन्छ।

अर्कोतर्फ, मूल्य महँगो भएमा भारतबाट ठूलो मात्रामा धानचामल आयात भई नेपाली धानले बजार नपाउने अवस्था आउँछ। यसै कारण मूल्य निर्धारणमा भारतीय बजारलाई आधार मान्नुपरेको उनको दाबी छ।

५ सय रुपैयाँको सीमाको प्रभाव देखिएन

सरकारले भारतबाट सर्वसाधारणलाई ५ सय रुपैयाँभन्दा बढीको सामान भन्सारविना आयात गर्न नपाउने व्यवस्था लागू गरेको छ। सीमावर्ती भारतीय बजारबाट सबैभन्दा बढी आयात हुने वस्तुमा चामल प्रमुख हो।

तर, सरकारले सीमामा गरेको यस कडाइको प्रभाव नेपाली बजारमा नदेखिएको धानचामल व्यवसायीहरू बताउँछन्। खुला सिमानाको फाइदा उठाउँदै अझै पनि ठूलो मात्रामा चोरी–तस्करीमार्फत चामल भित्रिरहेको व्यवसायी राठीले दाबी गरे।

कोरोना महामारीका बेला सीमानाका पूर्ण रूपमा बन्द हुँदा मात्रै नेपाली बजारको वास्तविक माग र अवस्थाबारे जानकारी मिलेको उनले स्मरण गरे। त्यसबेला खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग ह्वात्तै बढेको थियो। सरकारले जतिसुकै नियम ल्याए पनि सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण नहुँदा स्वदेशी उद्योग व्यवसाय नराम्ररी प्रभावित भइरहेको उनको भनाइ छ।

तेलमा आयातकै भर

चन्द्र शिव राइस एन्ड आयल मिलले उत्पादन गर्ने तोरीको तेलका लागि आवश्यक कच्चा पदार्थ पूर्ण रूपमा विदेशबाटै आयात भइरहेको छ। यो मिल मात्र नभई अन्य तेल मिलहरूसमेत कच्चा पदार्थमा पूर्ण परनिर्भर रहेको सञ्चालक राठीले बताए। मिललाई आवश्यक पर्ने तोरी भारत, अष्ट्रेलिया, युक्रेनलगायतका देशबाट आयात गर्ने गरिएको छ।

यस मिलले घैला ब्रान्डको तोरीको तेल उत्पादन गर्दै आएको छ। मिलको दैनिक उत्पादन क्षमता ४० टन रहेको छ। तर, कच्चा पदार्थको मूल्य र आयातमा भइरहेको उतारचढावका कारण मिल पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिएको उनले बताए। यस उद्योगले महिला र युवाहरूलाई रोजगारीमा प्राथमिकता दिएको छ। उद्योगमा अधिकांश कामदार महिला रहेका छन्।

पुर्खाको विरासत थाम्ने स्वेच्छाको अठोट

रोजगारी र अवसरको खोजीमा युवाहरू विदेश पलायन भइरहेको बेला नेपालमै केही गर्ने सोचका साथ विराटनगरकी स्वेच्छा रिजाल सक्रिय छिन्। पुर्खादेखि नै मोरङमा साझेदारीमा विभिन्न उद्योग सञ्चालन गर्दै आएको रिजाल परिवारको चौथो पुस्ताको रूपमा उनले हाल विराटनगरकै पुरानो चन्द्र शिव राइस एन्ड आयल मिलको निर्देशकको कार्यभार सम्हालेकी छन्।

नेपाली युवाहरूको पहिलो रोजाइ अमेरिका, अष्ट्रेलियालगायतका देश भइरहेका बेला स्वेच्छाले भने नेपालमै सम्भावना देखेर यसैलाई कर्मथलो बनाएको बताइन्। स्वदेशमै उद्योग व्यवसाय सञ्चालन गर्ने, नयाँ सम्भावना पहिल्याउने र धेरैभन्दा धेरै महिला तथा युवालाई रोजगारी दिने आफ्नो लक्ष्य रहेको उनले सुनाइन्।

पुर्ख्यौली रूपमा आफ्नो परिवारले साझेदारीमा मोरङका दुईवटा उद्योग सञ्चालन गर्दै आएको उनले बताइन्। हाल उनीहरूको परिवारले चन्द्र शिव राइस एन्ड आयल मिल र स्वस्तिक जुट मिल सञ्चालन गरिरहेको छ। दुवै उद्योगमा महिला र युवालाई प्राथमिकतामा राखिएको निर्देशक रिजालले जानकारी दिइन्।

थाइल्यान्ड र मलेसियालगायतका देशमा अध्ययन गरेकी उनले इन्टरनेशनल बिजनेसमा स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरेकी छन्। विदेशमा पढेर त्यहाँको बजारको अवस्थासमेत बुझेकी उनले आफ्नै देशमा केही गर्न सकिन्छ भन्ने अठोटका साथ पुर्ख्यौली उद्योगबाटै व्यावसायिक यात्रा सुरु गरेकी हुन्। आफ्नो ज्ञान र अनुभवलाई नेपालको अर्थतन्त्र र कम्पनीमा लगाउने उनको सोच छ।

नेपालमा युवाका नयाँ सोचलाई मान्यता नदिने र निरुत्साहित गर्ने प्रवृत्ति नै प्रतिभा पलायनको मुख्य कारण रहेको उनको बुझाइ छ। परम्परागत शैलीभन्दा युवाहरूको सोच फरक हुने भए पनि नेपालमा उनीहरू अवसरबाट वञ्चित हुनुपरेको उनले बताइन्।

युवाहरूलाई स्वदेशमै अवसर र प्रोत्साहन दिन सरकारले व्यापार-व्यवसायका लागि पुँजी उपलब्ध गराउने र सहुलियतपूर्ण ऋण सहज तरिकाले दिने नीति ल्याउनुपर्ने उनको सुझाव छ।

नेपालमा अवसर र सम्भावना प्रशस्त रहे पनि युवा शक्तिलाई परिचालन गर्ने नीतिगत व्यवस्था नभएको उनको भनाइ छ। आफ्ना उत्पादनलाई ब्रान्डिङमा केन्द्रित गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने योजना उनले सुनाइन्। ‘ब्रान्डमा फोकस गर्ने र विदेशमा पनि आफ्ना उद्योगका उत्पादन पुर्‍याउने मेरो सोच छ,’ उनले भनिन्।

विदेशमा मात्रै अवसर छ भन्ने मानसिकता नेपाली युवाहरूले त्याग्नुपर्ने उनको धारणा छ। ‘युवाहरूले नेपालमा भएको अवसर अनदेखा गर्नुहुँदैन,’ उनले भनिन्, ‘आफ्नो क्षमतालाई नेपालमै प्रयोग गर्नुपर्छ।’

आफूले सञ्चालन गर्ने उद्योग व्यवसायमा महिला र युवालाई सधैं प्राथमिकता दिने उनले बताइन्। सबै क्षेत्रबाट लैंगिक भेदभाव हटाउनुपर्नेमा उनले जोड दिइन्।

‘पुराना पुस्तासँग अनुभव र ज्ञान हुन्छ भने नयाँ पुस्तासँग सिर्जनशीलता हुने भएकाले दुवैलाई मिलाएर अगाडि बढ्नुपर्छ,’ उनको भनाइ छ।

विदेशमा जतिसुकै मिहिनेत गरे पनि परिणाम देखाउन गाह्रो हुने तर नेपालमा काम गर्दा त्यसको प्रतिफल देखिने र देशलाई विश्वसामु चिनाउन सकिने उनले बताइन्।

प्रकाशित: १६ असार २०८३ २०:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App