संयुक्त राष्ट्रसंघको शान्ति स्थापना अभियानअन्तर्गत लिवियामा कार्यरत नेपाली शान्ति सैनिकहरूको अदलीबदली प्रक्रिया सुरु भएको छ।
नेपाली सेनाका अनुसार लिबियामा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन (UNSMIL) मा तैनाथ श्री नयाँ भैरवीदल गुल्म (शान्ति सेना) सातौं डफ्फालाई प्रतिस्थापन गर्न श्री गुरूबक्स गुल्म (शान्ति सेना) आठौं डफ्फाका ४२ जना नेपाली शान्ति सैनिकहरूको पहिलो टोली बुधबार मिसन क्षेत्रमा प्रस्थान गरेको छ।
त्यसैगरी, सोही मिसनमा आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका ६१ जना नेपाली शान्ति सैनिकहरू बुधबार नै स्वदेश फर्किएका छन्।
हाल लिवियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनमा नेपाली सेनाका २१३ जना शान्ति सैनिकहरू विभिन्न जिम्मेवारीमा कार्यरत रहेका छन्।
नेपालले लामो समयदेखि संयुक्त राष्ट्रसंघका विभिन्न शान्ति स्थापना अभियानहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ। नेपाली शान्ति सैनिकहरूले अन्तर्राष्ट्रिय स्तरमा व्यावसायिकता, अनुशासन र कार्यकुशलताका कारण विशेष पहिचान बनाएका छन्।
प्रकाशित: २१ जेष्ठ २०८३ १७:११ बिहीबार



-600x400.jpg)

