सभामुख देवराज घिमिरेले नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकवि भानुभक्त आचार्यबाट भएको बताएका छन्।
भानुभक्तको २१२औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान र भानु प्रतिष्ठानले संयुक्त रूपमा आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भाषा, साहित्य र संस्कृति क्षेत्रमा भानुभक्तले गरेको योगदानकै कारण विश्वभर फैलिएका नेपाली भाषीले उनको सम्मान गर्ने गरेको बताए। नेपाली भाषालाई विश्वस्तरमा लैजाने गरी काम गर्नुपर्नेमा पनि उनले जोड दिए।
युवापुस्तामा भानुभक्तको विचार पुर्याउन काम गर्नुपर्नेमा पनि सभामुख घिमिरेले जोड दिए। साहित्यका माध्यमबाट देश निर्माणमा योगदान गर्नेको सम्मान हुने वातावरणले नै यसको विकासमा सहयोग पुग्ने उनको भनाइ थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले नेपाली भाषालाई आजको अवस्थासम्म ल्याउन भानुभक्तले गरेको योगदान महत्वपूर्ण रहेको बताए। नेपाली संसारका विभिन्न भू–भागमा फैलिएको र नेपाली भाषाको पनि विस्तार भएको उनले बताए। रामायणमार्फत भानुभक्तले नेपाली भाषालाई विश्वभर फैलाएको मन्त्री पन्तको भनाइ थियो।
प्रज्ञा–प्रतिष्ठानका कुलपति भुपाल राईले राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियतामा तनहुँमा विभिन्न भाषाभाषीका आदिकविको प्रतिमालगायत संरचना बनाउन लागिएको कुरा सुखद रहेको बताए। प्रतिष्ठानले पनि विविध भाषाभाषीका प्रतिमा बनाउन लागेको जानकारी उनले दिए।
सम्मानित व्यक्तित्व साहित्यकार तुलसी दिवसले संस्कृति र साहित्यलाई देखाउने रूपमा मात्र नलिई सांस्कृतिक, साहित्यिक र भाषिक व्यक्तिलाई सम्मान गर्नुपर्ने बताए। भाषा, साहित्यका लागि आफूले ९० देशमा निमन्त्रणा पाएर विचार राखेको स्मरण गर्दै त्यसैका लागि सम्मान पाएको अनुभूति भएको उनले बताए। नेपाली भाषा, साहित्यमा उनले गरेको योगदानको स्मरण यस वर्षको भानु जयन्तीका अवसरमा अभिनन्दन गरिएको हो।
कार्यक्रममा साहित्यकार डा. नवराज लम्साल, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, भानु प्रतिष्ठानका पदाधिकारीलगायतले उनले नेपाली भाषा, साहित्य र सांस्कृतिक एकीकरणका लागि गरेको योगदान महत्वपूर्ण रहेकोमा जोड दिए। कार्यक्रमअघि रानीपोखरीस्थित भानु प्रतिमास्थलबाट सुरु भएको र्याली प्रज्ञा प्रतिष्ठानको परिसरमा आएर समापन भएको थियो।
आदिकवि भानुभक्तको जन्म वि.सं. १८७१ असार २९ मा भएको थियो भने निधन १९२५ असोज ६ मा भएको हो। भानुभक्तले संस्कृतमा लेखिएको अध्यात्म रामायणलाई नेपाली भाषामा अनुवाद गरी योगदान गरे। रासस
प्रकाशित: २९ असार २०८२ १३:१७ आइतबार





