सामाजिक सञ्जालमार्फत ‘नेपाली ब्रो’ नामले परिचित कुमार थापा श्रीमती नेपाली सेनाको सुवेदार ईश्वरी भुजेल हत्या प्रकरणमा पुर्पक्षका लागि थुनामा जाने भएका छन्। काठमाडौं जिल्ला अदालतले बिहीबार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई अनुसन्धान नसकिँदासम्म थुनामै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
काठमाडौंको तारकेश्वर नगरपालिका-६ लोलाङ पैँयुटारमा घरायसी विवादका क्रममा उनले श्रीमती ४२ वर्षीया भुजेलको धारिलो हतियार प्रयो गरी गत जेठ २२ गते राति हत्या गरेका थिए। बयानका क्रममा उनले घाँटी रेटेर श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन्।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दुवै जनालाई थुनामा पठाउने आदेश जारी गरेको अदालत स्रोतले जनाएको छ। यही मुद्दामा प्रतिवादी बनाइएका विक्रम थापा मगर र सुजन थापालाई भने अदालतले जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न सक्ने आदेश दिएको छ।
यो प्रकरण केही समययता चर्चामा रहेको घटनासँग जोडिएको छ, जहाँ कुमार थापामाथि आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेपछि प्रहरीले विस्तृत अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा घटनामा अन्य व्यक्तिको समेत संलग्नता देखिएपछि थप तीन जनालाई पनि प्रतिवादी बनाइएको थियो।
अभियोजन पक्षले योजनाबद्ध रूपमा हत्या भएको आशंकासहित अदालतमा मुद्दा दर्ता गरेको थियो। प्रारम्भिक सुनुवाइपछि अदालतले प्रमाण र घटनाको प्रकृतिलाई आधार मान्दै मुख्य आरोपी मानिएका कुमार थापा र प्रतीक्षा आचार्यलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।
सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’ का रूपमा परिचित थापा विभिन्न डिजिटल प्लेटफर्ममार्फत चिनिएका व्यक्ति हुन्। उनीमाथि लागेको गम्भीर आरोप र अदालतको पछिल्लो आदेशपछि यो घटना अहिले सार्वजनिक चासोको विषय बनेको छ।
प्रकाशित: १८ असार २०८३ १७:४६ बिहीबार





