१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

विश्व शान्तिमा नेपाली सेनाको गर्वलायक उपस्थिति

विश्व शान्तिमा नेपाली शान्ति सैनिकले आफूलाई साहसी, अनुशासित एवं व्यावसायिक रूपमा स्थापित गरेका छन्। सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवेक्षक खटाएर संयुक्त राष्ट्रसङ्घको विश्व शान्ति अभियानमा सहकार्य सुरु गरेको नेपाली सेना अहिले उक्त विश्व मञ्चको दह्रो सहयात्री बनेको छ। 

सिरियास्थित युएन शान्ति मिसनका पूर्व फोर्स कमाण्डर ईश्वर हमालका अनुसार नेपाली शान्ति सैनिकले जोखिमयुक्त जिम्मेवारीसमेत सहजै स्वीकार गर्दै इमान्दार, व्यावसायिक र आदेशपालक ‘च्याम्पियन’ सैनिकको परिचय दिएका छन्। उनका अनुसार नेपाली शान्ति सैनिक अनुभवी, अनुशासित, तटस्थ, भरपर्दा र जोखिम अवस्थामा पनि तत्काल परिचालित हुने भएकाले अन्तरराष्ट्रिय स्तरमा प्रशंसित छन्।  

विश्व शान्ति, सुरक्षा, समानता र परस्पर सम्मानका उद्देश्यसहित स्थापना भएको संयुक्त राष्ट्रसङ्घमा नेपालको प्रवेश सन् १९५५ डिसेम्बर १४ मा भएको थियो। नेपालले सन् १९६९ देखी ७० र १९८८ देखी ८९ मा दुईपटक सुरक्षा परिषद्को अस्थायी सदस्यको भूमिका निर्वाह गरिसकेको छ। नेपालको परराष्ट्र नीतिमा पनि संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्तलाई प्राथमिकता दिइएको छ। नेपालले द्वन्द्वग्रस्त मुलुकमा शान्ति सैनिक पठाउँदा युएनको झण्डामुनि मात्र जाने नीति अवलम्बन गरेको छ।  

राष्ट्रको आह्वानमा पुरानो गोरख गण सन् १९७४ मा इजिप्टमा पहिलोपटक तैनाथ भएको थियो। त्यसयता ४४ शान्ति मिसनमा एक लाख ६२ हजार ४९६ नेपाली शान्ति सैनिकले योगदान गरिसकेका छन्। सोही सङ्ख्यामा राष्ट्रसङ्घीय शान्ति पदक प्राप्त भएको छ। तीन हजार ६६६ भन्दा बढी महिला शान्ति सैनिकले पनि योगदान दिएका छन्। नेपाली सेनाले इन्जिनियर, मेडिकल तथा विशेष फौजका टुकडी सहभागी गराउँदै शान्ति कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छ। 

साइप्रस मिसनका पूर्व फोर्स कमान्डर रथी भिक्ट्रीशम्शेर जबराले द्वन्द्वरत मुलुकमा फोर्स कमान्डरको जिम्मेवारी पाउनु देश र संगठनका लागि अवसर भएको बताएका छन्। उनका अनुसार त्यतिबेला युरोप, अष्ट्रेलिया र अर्जेन्टिनालगायत १५ देशका करिब एक हजार ७०० शान्ति सैनिक परिचालित थिए। 

विश्व शान्ति स्थापनाका क्रममा हालसम्म ७४ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त गरेका छन् भने ७७ जना गम्भीर घाइते भएका छन्। पछिल्लो समय युएनमा आर्थिक अभावका कारण शान्ति मिसनमा सैनिक सङ्ख्या घटाइएको छ। विसं २०७९ मङ्सिरमा सेन्ट्रल अफ्रिकन रिपब्लिकमा तैनाथीसँगै नेपाल शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा पुगेको थियो। त्यसबेला नेपाली शान्ति सैनिकको सङ्ख्या छ हजार १६ पुगेको थियो। 

हाल विश्वका १० मिसनमा ३९१ महिलासहित चार हजार ३०२ नेपाली शान्ति सैनिक परिचालित छन्। महिला सैनिक खटाउने मुलुकको सूचीमा पनि नेपाल अग्रस्थानमा छ। संयुक्त राष्ट्रसङ्घले विश्व शान्तिकार्यका लागि नोबेल पुरस्कार प्राप्त गर्नुमा नेपाली शान्ति सैनिकको पनि योगदान रहेको जनाइएको छ।  

राष्ट्रसङ्घबाट अनुरोध आएमा ६० दिनभित्र मिसनमा तैनाथ गर्न सकिने गरी आवश्यक उपकरण र जनशक्ति तयारी अवस्थामा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई ‘सेन्टर अफ एक्सेलेन्स’ बनाउने लक्ष्यसहित पूर्वाधार स्तरोन्नति भइरहेको छ। केन्द्रमा बहुराष्ट्रिय अभ्यास तथा तालिम सञ्चालन हुँदै आएका छन्।  

एक वर्षमा विदेशी ३१ र स्वदेशी ६४ जनाको सहभागितामा चारवटा युएनसम्बन्धी विशिष्ट तालिम सञ्चालन गरिएको छ। सो अवधिमा १२ युनिटका तीन हजार ५३१ जनालाई प्रिडिप्लोयमेन्ट तालिम प्रदान गरिएको छ।  

शान्ति मिसनमार्फत नेपालले विदेशी मुद्रा आर्जन गर्दै अन्तरराष्ट्रिय सम्बन्ध विस्तारमा समेत योगदान पुर्‍याएको छ। दूतावास नभएका स्थानमा खटिएका शान्ति सैनिकबाट पनि परोक्ष रूपमा सम्बन्ध विस्तारमा सहयोग पुगेको छ। प्रत्येक दुई वर्षमा हुने मन्त्रीस्तरीय बैठकमार्फत विभिन्न देशसँगको सम्बन्ध सुदृढ हुँदै आएको छ। 

सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसङ्घको बडापत्र लागू भएको सम्झनामा प्रत्येक वर्ष उक्त दिन संयुक्त राष्ट्रसङ्घ दिवस मनाइन्छ। सो अवसरमा नेपाली सेनाले पनि वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यक्रम आयोजना गर्दै आएको छ।  

यसअघि कृष्णनारायणसिंह थापा (कुवेतंं), भिक्ट्रीशम्शेर जबरा (साइप्रस), बालानन्द शर्मा (इजरायलरसिरिया) , पवनजङ्ग थापा (दक्षिण सुडान), पूर्णचन्द्र थापा, ईश्वर हमाल र निर्मलकुमार थापाले ९सिरिया० फोर्स कमान्डरको जिम्मेवारी सम्हालेका थिए। हाल दक्षिण सुडानमा बलाध्यक्ष रथी गणेशकुमार श्रेष्ठ कार्यरत छन्। 

वार्षिक रूपमा बेलायतको वेल्सस्थित ब्रेकनमा हुने क्याम्ब्रियन गस्ती अभ्यास तथा पाकिस्तानमा आयोजित गस्ती प्रतियोगितामा नेपाली सेना तीनपटक स्वर्ण पदक जित्न सफल भएको छ। ती प्रतियोगितामा दर्जनौं राष्ट्रका सैनिक टोलीलाई पछि पार्दै नेपाली सेनाले व्यावसायिकता र दक्षता प्रदर्शन गरेको जनाएको छ।  

नेपाली शान्ति सैनिकले द्वन्द्वरत मुलुकमा खटिएर राष्ट्रसङ्घ र नेपालको प्रतिष्ठा अभिवृद्धि गर्दै आएको सैनिक प्रवक्ता राजाराम बस्नेतले बताएका छन्। २६३औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेना अनुशासित, विश्वसनीय र भरपर्दो शान्ति सैनिकका रूपमा अन्तरराष्ट्रिय समुदायमा स्थापित भएको दाबी गरिएको छ। रासस

प्रकाशित: १ फाल्गुन २०८२ ११:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App