ब्राजिलको बेलेंममा जारी संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन (कोप–३०) मा ‘पर्वत र जलवायु परिवर्तन’ लाई स्थायी फोरमको रूपमा स्थापित गर्न नेपालले प्रयास गरिरहेको छ।
यसबारे अन्तिम निर्णय नोभेम्बर २१ मा हुने समापन प्लेनरी बैठकमा हुने बताइएको छ। निर्णय पारित भएमा, यो संयुक्त राष्ट्र सङ्घीय जलवायु वार्तामा नेपालको दीर्घकालीन कूटनीतिक उपलब्धि हुनेछ र यसले पर्वतसम्बन्धी विषयलाई औंपचारिक रूपमा स्थायी छलफलका लागि मार्ग प्रशस्त गर्नेछ।
नेपालका तर्फबाट वार्ता गर्दै आएका प्रतिनिधि मनजीत ढकालका अनुसार पर्वत र जलवायु परिवर्तनसम्बन्धी एजेन्डाको प्रस्ताव कोप–३० को उद्घाटन प्लेनरीमै पहिलो पटक उठाइएको थियो। त्यसपछि राष्ट्रहरूले यो विषयमा कोप–३० को अध्यक्षसँग परामर्श गर्ने सहमति जनाएका थिए।
यसअघि पनि नेपाल र भुटानले किर्गिस्तान (माउन्टेन ग्रुपका वर्तमान अध्यक्ष) सहित अन्य मुलुकहरूसँग मिलेर पर्वत–जलवायु छलफलका लागि समग्र सहमति निर्माण गर्न विभिन्न चरणका परामर्शहरू गरेका थिए। तर ढकालका अनुसार, अन्तिम निर्णय भने नोभेम्बर २१ को सम्मेलन समापन प्लेनरीमै हुनेछ।
‘यदि सहमति भयो भने, सुरुमा यो एक पटक हुने कार्यक्रम हुनेछ। तर त्यस संवादका नतिजालाई हेरेर यसलाई वार्षिक रूपमा दोहोरिने, अझ स्थायी पर्वत–जलवायु मञ्चको रूपमा विकास गर्ने सम्भावनाबारे समेत विचार हुनेछ,’ उनले बताए।
समग्र उपलब्धि र अपेक्षा पूरा नभए पनि ऐतिहासिक कदम हुने ढकालको दाबी छ।
‘अब हामीसँग पर्वतलाई जलवायु सम्बन्धी संयुक्त राष्ट्र संघीय खाका संरचना (यूएनएफसीसी) भित्र अझ स्पष्ट र दृष्टिगोचर बनाउने प्रक्रिया सुरु भएको छ,’ उनले भने।
यसअघि बेलेंममै, कोप ३० का अध्यक्षले आयोजना गरेको ‘पर्वत र जलवायु परिवर्तन’ परामर्श कार्यक्रममा नेपालले पर्वत एजेन्डालाई यूएनएफसीसी प्रक्रियामा कसरी औपचारिक रूपमा समेटिने भन्ने विस्तृत प्रस्ताव प्रस्तुत गरेको थियो। ढकालका अनुसार, प्रस्तावलाई अन्य मुलुकले समर्थन जनाएका थिए।
नेपालसहित अन्य राष्ट्रहरू पर्वतसम्बन्धी एजेन्डालाई कोप संरचनाभित्र सुरक्षित गर्न प्रयासरत छन्। अधिकारीहरू भन्छन्- ‘जलवायु परिवर्तनले पर्वतीय क्षेत्र र तिनमा भरपर्ने तल्लो भेगको जनजीवन दुवैलाई गम्भीर रूपमा प्रभावित पारिरहेका हुँदा यस्तो एजेन्डा अत्यावश्यक छ।’
‘हामी पर्वतीय समुदायले भोगिरहेका जोखिमका बारेमा मुलुकहरूबाट लिखित प्रस्तुति (सबमिसन्स्) माग गर्ने प्रक्रिया सुरु गर्न चाहन्छौँ। साथै, पर्वतसम्बन्धी अनुकूलन, पूर्व चेतावनी, डाटा र निगरानी, दिगोपन, र अन्तर्राष्ट्रिय सहयोग लगायतका क्षेत्रहरूमा के कस्ता कार्य अघि बढाउन सकिन्छ भन्ने सिफारिस पनि माग गरिनेछ,’ अल्पविकसित समूहका सल्लाहकार समेत रहेका ढकालले भने।
मंगलबार कोप–३० को मन्त्रीस्तरीय सत्रलाई सम्बोधन गर्दै नेपालको प्रतिनिधिमण्डल प्रमुख तथा कृषिमन्त्री डा. मदन प्रसाद परियारले पनि पर्वत एजेन्डालाई यूएनएफसीसी प्रक्रियामा तत्काल समावेश गर्ने आवश्यकतामाथि जोड दिएका थिए।
गत मे महिनामा काठमाडौंमा आयोजित सगरमाथा संवादमा पनि पर्वत र जलवायु परिवर्तन सम्बन्धी वहुसरोकारवाला अन्तर्राष्ट्रिय फोरमको स्थापना हुनुपर्ने आवश्यकता औँल्याएको थियो।
१० नोभेम्बरदेखि ब्राजिलको बेलेंममा जारी कोप ३० को बैठक यसै साताको अन्तमा सम्पन्न हुनेछ।
प्रकाशित: ३ मंसिर २०८२ १५:३६ बुधबार





