कर्णाली प्रदेशको नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाही मुगु जिल्ला सोरु गाउँपालिका–६ का बासिन्दा हुन्।
आमा बिजुरा र पिता विक्रमबहादुर शाहीका जेठा सुपुत्रका रूपमा विसं २०२५ भदौ १६ गते जन्मिएका मुख्यमन्त्री शाहीले कक्षा एकदेखि तीनसम्म स्थानीय सोरुकोट प्राथमिक विद्यालय, कक्षा चारदेखि ७ जनज्योति निमावि नाथरपुर, ८ कक्षा मावि श्रीनगर हुम्ला, कक्षा ९ र १० जुम्ला अध्ययन गरे।
विसं २०४४ मा चन्दननाथ मावि जुम्लाबाट प्रवेशिका परीक्षा (एसएलसी) गरेपश्चात् उच्च शिक्षाका लागि उनी नेपाल ल क्याम्पस काठमाडौमा भर्ना भए। सोही क्रममा विसं २०४५ मा उनले अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरे।
नेकपा (माले)को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट राजनीति सुरु गरेका उनले ल क्याम्पसबाट २०४७ सालमा कानुनमा प्रवणीता प्रमाण पत्र तह उत्तीर्ण गरे।
उनी २०५४ मा नेकपा (एमाले) एरिया कमिटी सचिव थिए। विसं २०५६ को आम निर्वाचनमा भएको झडपपछि नौ दिन उनले हिरासतमा बस्नुपर्यो। अस्थायी र स्थायी शिक्षकका रूपमा काम गरेका शाहीले १३ वर्षमा १६ विद्यालयमा अध्यापन गरेका थिए।
उनी विसं २०५८ मा तत्कालीन नेकपा (माओवादी) पार्टीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा पूर्णकालीन सदस्य थिए। त्यस क्रममा उनलाई पार्टीले दिएको जिम्मेवारी विभिन्न मोर्चामा रहेर पुरा गरे।
विसं २०५९ देखि २०६४ सम्मको अवधिमा शाही जिल्ला कमिटी सदस्य हुँदै पार्टी सचिवका रूपमा काम गरे।
विसं २०६५ पछि उनले पार्टीको जिल्ला इञ्चार्जको जिम्मेवारी सम्हाले। विसं २०६९ मा तत्कालीन नेकपा (माओवादी) विभाजनपछि किरण वैद्य समूहमा लागेका उनले विसं २०७० को संविधानसभा निर्वाचन बहिष्कारमा उत्रेपछि १८ दिन जेल परेका थिए।
विसं २०७१ मा प्रचण्ड नेतृत्वको पार्टीमा एकता भएयता नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य हुन्।
उनी विसं २०७९ को प्रदेशसभा निर्वाचनमा मुगु निर्वाचन क्षेत्र (ख)बाट निर्वाचित भए। उनले यस अगाडि कर्णालीको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सम्हाली सकेका छन्। विसं २०८२ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशसभा दल नेताका रूपमा चयन भएका थिए।
नेकपा (एमाले)को समर्थनमा मंगलबार कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष मुख्यमन्त्री पदमा दाबी पेस गरेसँगै उनलाई नेपालको संविधान बमोजिम प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। मुख्यमन्त्री शाहीले आजै सपथ लिइसकेका छन्।
कर्णाली प्रदेशको पाँचौँ नवनियुक्त मुख्यमन्त्री शाहीले सुशासन, उत्पादन र रोजगारी दिने र गरिबी हटाएर कर्णालीको समृद्धिको यात्रालाई गन्तव्य पुर्याउन प्रमुख लक्ष्यकासाथ काम गर्ने अठोट गरेका छन्।
प्रकाशित: १३ श्रावण २०८३ १७:१३ बुधबार

