१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

प्रहरीले भन्यो- बाढीमा बगेर आएका माछा नखानू, महामारी फैलिन सक्छ

नेपाल प्रहरीले रसुवाको भोटेकोशी तथा आसपासका नदीहरूमा तैरिएर आएका माछा र नदीको पानी प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

बाढीसँगै बगेर आएका मानव शव, मृत जीवजनावर तथा फोहोरजन्य प्रदूषित पदार्थका कारण नदीको पानी र जलचरहरू अत्यधिक दूषित भएकाले प्रहरीले यस्तो सचेतनामूलक चेतावनी जारी गरेको हो।

प्रहरीका अनुसार बाढीका कारण नदीको पानीमा घातक तथा हानिकारक कीटाणुहरू मिसिएकाले माछा तथा अन्य नदीजन्य खाद्यपदार्थसमेत कीटाणुयुक्त बनेका छन्।

सुरक्षाकर्मीहरूले प्रभावित क्षेत्रमा स्थलगत रूपमै माइकिङ गर्दै नदी किनारबाट माछा समात्ने, घर लैजाने वा खाने जस्ता कार्य नगर्न र नगराउन नागरिकहरूमा आग्रह गरेका छन्।

दूषित पानी तथा कीटाणुयुक्त खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत अन्य संक्रामक रोग र महामारी फैलिने उच्च जोखिम रहेको प्रहरीले जनाएको छ।

सम्भावित स्वास्थ्य संकटबाट जोगिन नदीबाट निकालिएका माछा नखान र नदीको पानी नपिउन सम्पूर्ण तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रकाशित: १५ भाद्र २०८३ १६:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App