राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अत्यावश्यकबाहेक हेलिकप्टर माग नगर्न र सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ।
प्राधिकरणले सोमबार सूचना जारी गर्दै रसुवामा भदौ १० गते गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सहयोग गर्न अनुरोध गरेको हो।
रसुवा बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँ जिल्लाका विभिन्न स्थानीय तह प्रभावित भएको जनाएको छ।
प्रभावित तथा जोखिमयुक्त क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धारको माग बढ्दै गएपनि सीमित हवाई स्रोतलाई खोज, उद्धार र राहत सामग्री ढुवानीजस्ता अत्यावश्यक कार्यका लागि मात्र प्रयोग गर्नुपर्नेअवस्था रहेको बताउँदैप्राधिकरणले अत्यावश्यक हवाई उद्धार आवश्यक नभएका नागरिकलाई सञ्चालनमा रहेका वैकल्पिक सडकमार्ग प्रयोग गर्न आग्रह गरेको छ।
हालसम्म प्रभावित क्षेत्रबाट विदेशी २५२ जना र नेपाली ३३४४ जनाको उद्धार गरिएको उल्लेख गरिएको छ।
धादिङतर्फ जाने सवारीसाधनले धादिङबेसी – परैवाटार – नेपालटार – गजुरीटार – पिपलटार – आदमटार – बेलिनटार – केउरिनीटार हुँदै मास्तार (ह्याम्लेट रेष्टुरेन्ट) पृथ्वी राजमार्ग प्रयोग गर्न आग्रह गरिएको छ।
त्यस्तै, रसुवा जाने सवारीसाधनका लागि विदुर – ढिकुरे – चौघडा – आप्र – नर्जा – लच्याङ – सरमथली – पाटीखर्क हुँदै बोगटीटार (पासाङ ल्हामु राजमार्ग) – कालिकास्थान – धुन्चे जाने बाटो वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न आग्रह गरेको छ।
रसुवा–कालिकास्थान–धुन्चे सडक सात स्थानमा क्षति पुगेकाले उक्त मार्गमा यातायात सञ्चालन हुन नसकेको प्राधिकरणले जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १२:४५ सोमबार





