नेपाली कांग्रेसका सचेतक निश्कल राईले विपद् प्रभावित क्षेत्रमा राहत वितरण तथा उद्धार र व्यवस्थापनको काम प्रभावकारी हुन नसकेको भन्दै सरकारलाई थप गम्भीर भएर काम गर्न आग्रह गरेका छन् ।
संसदीय दलको बैठकमा विपद्को अवस्थाबारे छलफल भएको जानकारी दिँदै राईले सामाजिक सञ्जालमा सरकार अत्यन्त सक्रिय रहेको देखिए पनि प्रभावित क्षेत्रको वास्तविक अवस्था फरक रहेको बताएका हुन् ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे प्रभावित क्षेत्रमा पुगेर फर्किएको उल्लेख गर्दै राईले स्थानीय तहका जनप्रतिनिधि, स्थानीयवासी तथा विपद् प्रभावित परिवारसँगको सम्पर्कबाट राहतको वास्तविक आवश्यकता र वितरण अवस्थाबारे जानकारी प्राप्त भएको बताए ।
उनका अनुसार आवश्यकता परेका नागरिकले राहत नपाइरहेको अवस्था छ भने कतिपय स्थानमा राहत सामग्री थुप्रिएर बसेको छ । राहत सामग्रीको डिस्प्याच तथा वितरणको संयन्त्र प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।
सरकारले अवलम्बन गरेको एकद्वार प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको गुनासो आएको पनि राईले बताए । स्थानीय तहसँग प्रभावित नागरिकको तथ्याङ्क र वास्तविक अवस्थाबारे प्रत्यक्ष जानकारी हुने भएकाले राहत वितरणमा उनीहरूसँग समन्वय आवश्यक रहेको उनले बताए ।
हालै सत्तासीन पार्टीका सभापतिले सम्पर्क र सहकार्यका लागि पहल गरेको विषयलाई भने राईले सकारात्मक भन्दै त्यसलाई थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने बताए ।
राईले विपद् व्यवस्थापनका लागि सरकारसँग तत्काल स्पष्ट र अद्यावधिक तथ्याङ्क आवश्यक रहेको बताए । विपद्अघि रहेको जनसङ्ख्या, हाल सम्पर्कमा रहेका नागरिक, सुरक्षित स्थानमा रहेका व्यक्ति, बेपत्ता, मृतक तथा अज्ञात अवस्थामा रहेका व्यक्तिको यकिन विवरण संकलन गर्नुपर्ने उनको भनाइ छ ।
त्यस्ता तथ्याङ्क स्थानीय तह, सुरक्षा निकाय र नागरिक प्रतिनिधिसँग रहेको भन्दै उनले सबै पक्षलाई संयुक्त रूपमा परिचालन गरेर खोज तथा उद्धारको काम अघि बढाउनुपर्ने बताए । विपद् व्यवस्थापनको काम गम्भीर र जटिल रहेको तथा आवश्यक उपकरणको समेत अभाव रहेको उनले उल्लेख गरे ।
सरकारले कांग्रेसलाई छलफलका लागि ढिला बोलाएको गुनासो गर्दै राईले विपद्को समयमा संसद् पनि तत्काल सञ्चालन गर्नुपर्ने बताए। नागरिकमा विश्वास कायम गर्न र सरकारको उपस्थितिको अनुभूति दिलाउन सदनमार्फत जवाफदेहिता आवश्यक रहेको उनको भनाइ छ ।
राहत वितरण, उद्धार तथा खोजी र पुनस्र्थापनाको काम निष्पक्ष र प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राईले गरे । साथै, संसद् सुचारु गरी विपद्सँग सम्बन्धित विषयमा छलफल र समाधानको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।
प्रकाशित: १५ भाद्र २०८३ १४:४५ सोमबार





