भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ ।
ग्रुपका अध्यक्ष शिवरतन शारडाले सोमबार अर्थमन्त्रीको कार्यालयमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । सहयोगमध्ये पशुपति खाद्य तेल उद्योगले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिजले १५ लाख, प्रिमियर वायर्सले १५ लाख र प्रिमियर डिस्टिलरीले १० लाख रुपैयाँ दिएका छन् ।
ग्रुपले करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थसमेत सरकारलाई उपलब्ध गराएको जनाएको छ । साथै, प्रभावित क्षेत्रमा निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा गरेको छ ।
यसैगरी, शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् होल्डिङ्सले थप २१ लाख रुपैयाँ उद्धार कोषमा सहयोग गरेको छ भने शिवम् सिमेन्टले प्रभावित क्षेत्रको एक गाउँको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ ।
ग्रुपले घाइतेका लागि आवश्यक रगतको व्यवस्थापनमा सहयोग पुर्याउन काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ।
प्रकाशित: १५ भाद्र २०८३ १६:३५ सोमबार





