३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्‌मा पहिलो पटक नेपाल अध्यक्ष निर्वाचित

संयुक्त राष्ट्रसंघको प्रमुख अंगको रुपमा रहेको  आर्थिक तथा सामाजिक परिषद् (इकोनोमिक एण्ड सोसियल काउन्सिल) को अध्यक्षमा नेपाल पहिलो पटक निर्वाचित भएको छ । 

संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले न्युयोर्कमा रहेको  संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित एक विशेष समारोहबिच बिहीबार परिषद्को अध्यक्ष पदको बहाली गरेका छन् ।  उक्त समारोहमा परिषद्का निवर्तमान अध्यक्ष, संयुक्त राष्ट्र संघका लागि क्यानडाका स्थायी प्रतिनिधि बाब रेले अध्यक्षताको प्रतीक ( ग्याभल ) हस्तान्तरण गर्दै उक्त पदको अध्यक्षता थापालाई हस्तान्तरण गरेका थिए ।  

परिषद्को अध्यक्षता ग्रहण गरिसकेपछि आफ्नो मन्तव्यमा थापाले समावेशी, समन्वित र नतिजामुखी समाधानहरू मार्फत विश्वका जटिल विकासीय चुनौतीहरूको समाधान खोज्ने दिशामा परिषद्को  भूमिकालाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले परिषद्लाई  संवादको मञ्च  मात्र नभै ‘नतिजा दिने कार्यको लागि उत्प्रेरक’का रूपमा ऊर्जाशील बनाउनु पर्ने आवश्यकता औँल्याए ।  

परिषद्को अध्यक्षता मार्फत नेपालले  बहुपक्षीयताप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धता र आपसी विश्वास निर्माणको आवश्यकतालाई मुखरित गरेको चर्चा गर्दै उनले ‘यो  बहुपक्षीयतालाई सुदृढ गर्ने र न्यायोचित, समावेशी तथा सुदृढ विश्व निर्माणमा योगदान दिने नेपालको अभिलाषाको प्रतीक हो’ भने । नेपालले झण्डै चार दशकपछि  विश्वस्तरको बहुपक्षीय संस्थामा यति  ठूलो महत्त्वपूर्ण जिम्मेवारी लिएको र परिषद्को  अध्यक्षका रूपमा नेपाल पहिलो पटक निर्वाचित भएको परराष्ट्र मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।  

परिषद्का नवनियुक्त अध्यक्ष थापाले आफ्नो कार्यकालमा कृषि–खाद्य प्रणालीको रूपान्तरण, प्रणालीगत सुधार र रणनीतिक साझेदारीमार्फत विकासका लागि वित्तीय स्रोत परिचालन,  डिजिटल समावेशीकरण र युवा उद्यमशीलता, जलवायु सहनशीलता र  परिषद्को ८०औं स्मृति दिवसको कार्यक्रमको सफल आयोजना सहित  ५ प्रमुख प्राथमिकता रहने बताए ।

अध्यक्ष थापाले आफ्ना कार्यकाल ‘झनै प्रभावकारी कार्यान्वयन(डेलिभरिङ बेटर)’  भन्ने मूल नाराबाट निर्देशित रहने बताए । ‘झनै प्रभावकारी कार्यान्वयन अब विकल्प होइन, आवश्यकता हो’, उनले बताए ।  

उनले बहुपक्षीयतामा विश्वास पुनःस्थापना गर्ने, विभाजन हटाउने, कमजोर वर्गलाई सशक्त बनाउने र प्रतिबद्धतालाई कार्यमा परिणत गर्ने बाटोमा परिषद् हिडने बताए । उनले २०३० एजेन्डालाई शसक्त  पार्ने, संयुक्त राष्ट्रसङ्घ प्रणालीभित्र समन्वय र एकरूपता सुनिश्चित गर्ने, साझेदारीहरू बलियो बनाउने तथा कार्यान्वयन र अनुगमनमा जोड दिने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष थापाले सबै सदस्य राष्ट्र र सरोकारवालाको  समर्थनको आव्हान गर्दै  सदस्यहरूको समर्पित सहभागिता र सक्रिय संलग्नताले परिषद् सशक्त हुने बताए । अल्जेरिया, आर्मेनिया, डोमिनिकन गणराज्य र स्पेनलाई सन् २०२६ का लागि परिषद्को ब्युरोमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन् ।  

परिषद्को अध्यक्षको रूपमा नेपालको नयाँ भूमिकाले अन्तर्राष्ट्रिय विकास क्षेत्र र वित्तीय संस्थाहरू, नागरिक समाज तथा अन्य सरोकारवालासँगको संलग्नता उल्लेखनीय रूपमा बढाउने परराष्ट्र मन्त्रालयले विश्वास व्यक्त गरेको छ । 

प्रकाशित: १६ श्रावण २०८२ १८:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App