१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

नेपाली सेनाले ‘शंकास्पद भूमिका’ देखाएको भन्दै चौतर्फी आलोचना

जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछिका परिस्थितिमा नेपाली सेनाको भूमिकाप्रति प्रश्न उठाउँदै आलोचना भएको छ।  

ओलीको राजीनामापछि राष्ट्रपति रामचन्द्र पौडेलले राजीनामा भदौ २४ गते मध्यान्ह स्वीकृत गरेका थिए। जेनजीको माग अनुसार ओलीले राजीनामा दिए पनि आन्दोलनकारीले सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, शीतल निवास तोडफोड गर्दा पनि सेना चुप लागेर बसेको भन्दै आलोचना भएको थियोे। भदौ २४ गते राति १० बजेबाट मात्र नेपाली सेना बाहिर निस्किएको थियो।

जेनजी आन्दोलनकारीलाई वार्ताका लागि नेपाली सेनाले आह्वान गर्यो। वार्ताका लागि पुगेका जेनजी प्रतिनिधि रक्षा बमसँग प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनको सरोकावाला दुर्गा प्रसाईँ र राष्ट्रिय स्वतन्त्र पार्टी भनेपछि केही जेनजी आन्दोलनकारी वार्ता छोडेर बाहिरिएका थिए। जेनजी आन्दोलनकारी मध्येकी एक रक्षा बमले नेपाली सेनाको मुख्यालयबाट बाहिरिँदै यस्तो बताएकी थिइन्।

‘प्रधानसेनापतिले राष्ट्रपतिसँग भेट्न बोलाएर दुर्गा प्रसाईँ र रास्वपा समूहसँग वार्तामा बस्नुस् भन्नुभयो,’ बमले सामाजिक सञ्जालमा लेख्छिन्, ‘उहाँहरू स्टेकहोल्डर हो भनेर स्वयम प्रधानसेनापतिले भिनसकेपछि जेनजी आन्दोलनका क्रममा भएको बलिदान र युगान्तकारी परिवर्तनको यात्रा तुहिने भएकाले हामी त्यस प्रस्ताबलाई अस्विकार गर्दै नेपाली सेनाको मुख्यालयबाट बाहिरियौं।’

बमको भनाइलाई पुष्टी हुने गरी बुधबार दुर्गा प्रसाईँले प्रधानसेनापति सिग्देलसँगको तस्बिर सार्वजनिक गरे। प्रसाईँले बुधबार दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटोबारे गहिरो छलफल भएको बताए। प्रसाईँ राजतन्त्रको पक्षमा वकालत गर्दै आएका व्यापारी हुन्। जेनजीका प्रतिनिधिले व्यवस्था परिवर्तन नभई भ्रष्टाचारविरुद्ध अवस्था परिवर्तनका लागि आन्दोलन गरेको बताउँदै आएका छन्।  

प्रसाईँले बैंक, लघुवित्तको ऋण तिर्नुपर्दैन भनेर अभियान चलाउने अराजक व्यक्ति हुन्। ‘मुलुक संकटमा भएको बेला प्रधानसेनापतिले दुर्गा प्रसाइँ जस्तो अराजक व्यक्तिलाई भेट दिनु शंकास्पद छ,’ नेपाली सेनाका एक उच्च अधिकृतले भने, ‘यो घटनाले चिफ सापको भूमिका शंकास्पद देखिन्छ।’

यति मात्र नभएर नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष किशोर नेपालले सामाजिक सञ्जाल एक्स (ट्विटर)मा सार्वजनिक गरेको एक स्टाटसले थप विवाद सृजना गरेको छ। वरिष्ठ पत्रकार नेपालले राष्ट्रपति रामचन्द्र पौडेलका उपस्थितिमा भदौ २४ गते सुरक्षा प्रमुखको बैठकमा नेपाली सेनाका प्रधानसेनापतिले राष्ट्रपतिसँग राजीनामा दिन आग्रह गरेको र त्यसपछिको बाँकी अवस्था आफूले सम्हाल्ने बताएको लेखेका छन्। पत्रकार नेपालका अनुसार प्रधानसेनापतिको आग्रहमा राष्ट्रपतिको जवाफ थियो–‘म राजिनामा दिन्न। बरु तपाईँहरू मलाई मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लाइदिनुहोस। त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस।’ 

पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार नेपालले यस्तो गम्भीर विषय सार्वजनिक गरेपछि सेनापतिको सामाजिक सञ्जालमा आलोचना भएको छ। समर्थकले राष्ट्रपतिलाई सार्वजनिक गर्न माग गर्दै प्रर्दशन गर्न थालेका छन्। बर्तमान संविधान र संसदबाट नै निकाल्नुपर्ने भन्दै नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, रास्वपा लगायतका दलले धारणा सार्वजनिक गरेका छन्।

प्रकाशित: २६ भाद्र २०८२ १५:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App