एघारौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो। तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको हो।
यसअघि विसं २०३६ देखि उत्तरायण सुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो। वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो। यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम सुरु भएको हो।
प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यको प्राप्ति हुन्थ्यो। आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका छन्।
आयुर्वेदलाई योगसँग जोड्न विसं २०४८ चैत १५ गतेदेखि नरदेवी आयुर्वेद अस्पतालमा योग अभ्यास सुरु गरिएको थियो। विसं २०५८ देखि क्षेत्रीय आयुर्वेद चिकित्सालय विजौरी दाङमा पनि योगको अभ्यासबाट स्वास्थ्य लाभ गराउन सुरु गरिएको छ। स्वास्थ्यलाभ, मानसिक शान्तिका लागि योग अभ्यास गर्ने सङ्ख्या दिनप्रतिदिन बढ्न थालेको छ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषय रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ। गीतामा ‘योग कर्मसु कौशलम्’ अर्थात् नियमित योगको अभ्यास गर्नेले नै कुलतापूर्वक काम गर्न सक्दछ भन्ने जस्ता उदाहरण प्रस्तुत गरिएको छ।
इसा पूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरकसंहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ।
योग दिवस मनाउन थालेपछि नेपालमा योग र आयुर्वेदको क्षेत्र विकसित हुने यस क्षेत्रमा लागेकाहरुको भनाइ छ। नेपालमा योग र प्राकृतिक चिकित्साको औपचारिक अध्ययन अध्यापन नेपाल संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा हुँदै आएको छ।
प्रवेशिका परीषा उत्तीर्ण गरेकालाई छ महिनाको योग र प्राकृतिक चिकित्साको तालिम दिने गरिएको हो। जुनसुकै विषयमा स्नातक गरेकालाई प्राच्य स्वास्थ्य शिक्षामा दुई वर्षे स्नातकोत्तरको पाठ्यक्रम समेत स्वीकृत भएको विद्यापीठका योग र प्राकृतिक चिकित्सा विभाग प्रमुख डा. पोखरेल बताउँछन्।
स्वास्थ्य विषयमा स्नातक गरेकालाई प्राथमिकता दिए पनि जुनसुकै विषयमा स्नातक पूरा गरेकाले स्नातकोत्तर कक्षामा सहभागी हुन सक्नेछन्।
विसं २०५१ देखि पाठ्यक्रम विकास केन्द्रले कक्षा नौ र दशमा इच्छाधीन विषयका रूपमा योग शिक्षा, प्राकृतिक चिकित्सा र आयुर्वेद राखे पनि यस विषयमा स्नातक गरेका जनशक्ति नभएपछि सही रूपमा सुरु हुन सकेको छैन। केही विद्यालयमा सुरु भए पनि प्रभावकारी हुन नसकेको जनाइएको छ।
मानवभित्र भएका सम्पूर्ण सम्भावना उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ। प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवं साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो। अहिले स्वास्थ्य, मानसिक शान्ति र खुसीसँग जोडिएर योग आएको छ।
“जुन मान्छे जहाँ छ, त्यसबाट व्यवस्थित रूपमा अघि बढ्ने माध्यम योग हो, यसले कार्यक्षमता वृद्धि गर्छ, यसलाई पश्चिमी देशले जीवन व्यवस्थापन शास्त्र भन्न थालेका छन्”, डा. पोखरेलले भने।
योगभित्र मनोविज्ञान, परामनोविज्ञान र भावातीत मनोविज्ञान भएको उनले बताए। अमेरिकाका क्याम्पसमा परामनोविज्ञान र भावातीत मनोविज्ञानको अध्ययन अध्यापन सुरु भएको छ।
योग र ध्यान साधनाका लागि उत्तरायण महत्त्वपूर्ण मानिने भएकाले उत्तरायण सुरु हुने पहिलो दिन मकरसङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो। यस अवसरमा आज देशभर विभिन्न कार्यक्रम गर्न लागिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भक्तपुरमा योग दिवसको मूल कार्यक्रम आयोजना गर्न लागिएको छ।
प्रकाशित: १ माघ २०८२ १०:३८ बिहीबार





