२३ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

राष्ट्रिय सभाबाट जलस्रोत विधेयक पारित

जलस्रोतको उपयोग, संरक्षण र व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न ल्याइएको ‘जलस्रोत विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मत पारित भएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रतिनिधि सभाबाट सन्देशसहित आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि सभामा छलफल गरिएको थियो।

छलफलका क्रममा सांसद विष्णुबहादुर विश्वकर्मा, कृष्णबहादुर रोकाया, राधेश्याम पासवान, गोपाल भट्टराई र तारामान स्वाँरले विधेयकका विभिन्न प्रावधानप्रति सुझाव, जिज्ञासा र टिप्पणी व्यक्त गरे।

सांसदहरूको जिज्ञासामा प्रतिक्रिया दिँदै मन्त्री खड्काले जलस्रोतको दीर्घकालीन र दिगो उपयोग तथा प्रभावकारी व्यवस्थापनलाई लक्ष्य गरी विधेयक ल्याइएको जानकारी दिए । उनका अनुसार संविधानले समावेशी अधिकार सुनिश्चित गरिसकेको सन्दर्भमा विधेयकमा थप रूपमा दलितसम्बन्धी पृथक् व्यवस्था गर्नुपर्ने आवश्यकता नरहेको विषयमा समितिका सदस्यबिच सहमति जुटेकाले त्यसअनुसार विधेयक तयार पारिएको हो।

मन्त्री खड्काले विधेयकमा बाँध तथा जलस्रोत संरचनाको सुरक्षासम्बन्धी प्रावधानलाई अझ स्पष्ट र कार्यान्वयनमैत्री बनाइएको पनि स्पष्ट पारे ।

प्रकाशित: २३ श्रावण २०८२ १५:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App