नेपालगन्जस्थित भेरी अस्पतालको क्याविनमा 'डेरा जमाएर' बसेका चर्चित कर्णाली विकास बैंकको रकम अपचलन मुद्दाका मुख्य अभियुक्त पशुपतिदयाल मिश्रले चुनावी रणनीति बनाएको सम्बन्धी समाचार बाहिरिएपछि कारागार प्रशासनले 'विशेष निगरानी' बढाएको छ ।
बैंकको रकम अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले उनलाई गत साउन तेस्रो सातातिर पुर्पक्षका लागि नेपालगन्ज कारागार चलान गरेको थियो। तर, कारागार चलान भएयता उनी विभिन्न स्वास्थ्य समस्या देखाएर नियमित जसो यहाँका अस्पतालहरुमा बस्दै आएका थिए । पछिल्लो समय यही माघ १४ गते ‘ढाड दुख्ने’ समस्या बल्झिएको भन्दै मिश्र भेरी अस्पतालको अर्थोपेडिक विभाग अन्तर्गत रहेको १ नम्बर क्याविनमा भर्ना भएका थिए । तर, उक्त क्याविनमा मिश्रको उपचार भन्दापनि आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाँके-२ मा 'कसलाई जिताउने' र 'कसलाई हराउने' भनेर रणनीतिक योजना बनाइरहेको समाचार सार्वजनिक भएपछि कारागारमा ल्याएर विशेष निगरानीमा राखिएको कार्यालयका प्रमुख (जेलर) प्रकाश ढुंगानाले जानकारी दिए ।
ढुंगानाका अनुसार मिश्रलाई बिहीबार अपरान्हतिर भेरी अस्पतालको क्याविनबाट कारागारमा ल्याएर निगरानीमा राखिएको हो । मिश्रलाई कारागार ल्याइएछि बाहिरी व्यक्तिसँग भेटघाटमा रोक लगाइएको जेलर ढुंगानाले बताए । 'उहाँ(मिश्र) को शंकास्पद गतिविधिका कारण अहिले कारागारभित्र परिवारका सदस्य बाहेक बाहिरी मान्छेहरुलाई भेटघाट गर्न दिएका छैनौं,' उनलेे नागरिकसँग शुक्रबार भने, 'चुनावको बेला उपचार गर्न भनेर अस्पतालमा भर्ना भै जसरी उहाँले राजनीतिक गतिविधि गर्नुभयो, यसले उहाँमाथी हामीले यसअघि गरेको विश्वासलाई तोड्नु भयो, यस्तै गतिविधिले अब उहाँले कारागारबाट पाउने सुविधाहरु खोसिन सक्छन ।'
मिश्रले अस्पतालमा भर्ना भएर सुविधा दुरुपयोग गरेको सम्बन्धमा प्रकाशित भएका समाचार नै प्रयाप्त प्रमाण भएको र आवश्यकता अनुसार भेरी अस्पतालको सिसी क्यामेरा फुटेज पनि अध्ययन गर्न सकिने जेलर ढुंगानाले प्रष्ट्याए ।
भेरी अस्पतालको रेकर्डअनुसार उक्त क्याविनमा मिश्रले उपचारको बहानामा ९ दिन बिताएका छन् । क्याविनमा रहुन्जेलसम्म नेकपा (एमाले)का पुर्वकेन्द्रीय सदस्य रहेका मिश्रकै निर्देशनबाट बाँके-२ मा चुनावी रणनीति बनेको अस्पताल श्रोतले जनाएको छ ।
सामान्यतयाः कुनै बिरामीलाई चिकित्सकले भर्ना गरेको केहीदिनभित्र उसको स्वास्थ्य अवस्थाअनुसार औषधि चलाउने वा शल्यक्रिया गर्ने निधो गरिन्छ। सामान्य भएपछि बिरामीलाई डिस्चार्ज गरिन्छ। तर, अस्पतालका अनुसार मिश्रको अवस्था अस्पतालमै राखिराख्नुपर्ने खालको थिएन ।
अभियुक्त मिश्रले पार्टीका नेता तथा कार्यकर्तासँग क्याबिनमै बैठक राखेर छलफल गर्ने गरेका थिए । चुनावको मुखमा पुर्पक्षमा थुनाको बास बसिरहेका अभियुक्तलाई राजनीतिक शक्तिको आडमा प्रहरी, प्रशासनदेखि अस्पतालले समेत यसरी सुविधा दिएकोमा अहिले प्रश्न उठिरहेको छ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले मिश्रलाई बिहीबार नै डिस्चार्ज गरिसकेको बताए । 'भेरी अस्पतालमा उहाँ(मिश्र) आउने-जाने क्रम यसअघि पनि चलिरहन्थ्यो, आएपछि अलि लामै समयसम्म बस्न खोज्नु हुन्थ्यो, कति पटक त मैले अब तपाईं जानुस, अरु बिरामीलाई पनि क्याविन दिनुपर्ने हुन्छ भनेर पठाएको पनि हुँ,' मेसु डा. सुवेदीले भने, 'यसपटक त अलि बढी नै गर्नु भएको रहेछ, उपचार गर्न आएको मान्छे, त्यो पनि अत्यन्तै संवेदनशिल ब्यक्तीले यस्तो समयमा विचार पुर्याउनु पर्थ्यो ।'
प्रकाशित: २३ माघ २०८२ १७:४८ शुक्रबार





