अमेरिकाले युक्रेन र रूसबीच चलिरहेको युद्ध अन्त्य गर्न जुन महिनासम्मको समयसीमा दिएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले शुक्रबार पत्रकारहरूसँगको कुराकानीमा यो जानकारी दिएका हुन्।
‘अमेरिका दुवै पक्षमाथि दबाब दिएर यो समयसीमाभित्र सम्झौता गराउन चाहन्छ‘ जेलेंस्कीलृ भने, ‘यदि तोकिएको समयमै सम्झौता भएन भने दुवै देशमाथि अझ कडा दबाब आउनेछ। यसको परिणाम गम्भीर हुन सक्छ।’
जेलेंस्कीले जानकारी दिँदै भने कि अमेरिकाले अब हुने त्रिपक्षीय वार्ता पहिलोपटक अमेरिकामै आयोजना गर्ने प्रस्ताव गरेको छ। युक्रेनले यो प्रस्ताव स्वीकार गरिसकेको छ र आफ्नो सहभागिता पनि पुष्टि गरिसकेको छ।
यसअघि अबुधाबीमा भएको त्रिपक्षीय बैठकबाट कुनै ठोस सहमति निस्कन सकेको थिएन। दुवै पक्ष आफ्ना–आफ्ना मागमा अडिग रहेका छन्। रूसले युक्रेनले डोनबास क्षेत्रबाट आफ्ना सेना फिर्ता लैजानुपर्ने माग गर्दै आएको छ भने युक्रेनले यो सर्त अस्वीकार गरिरहेको छ।
जेलेंस्कीले भने, ‘डोनबासको विषयमा प्रश्नहरू अहिले पनि जस्ताको तस्तै छन्।’ उनले बताएअनुसार सबैभन्दा जटिल मुद्दाहरूमा निर्णय केवल राष्ट्राध्यक्षहरूको बैठकबाट मात्रै सम्भव छ। वार्ताका क्रममा अमेरिकाले डोनबास क्षेत्रलाई स्वतन्त्र आर्थिक क्षेत्र बनाउने सुझाव दिएको थियो, तर जेलेंस्कीका अनुसार यस विषयमा दुवै पक्षका धारणा फरक छन् र यो कार्यान्वयन गर्न कठिन देखिन्छ।
वार्तामा युद्धविरामको अनुगमन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो। अमेरिकाले यस प्रक्रियामा आफ्नो भूमिका निर्वाह गर्न इच्छुक रहेको कुरा पुनः दोहो¥याएको छ।
यसैबीच, रूसले युक्रेनको ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र बनाएको छ। जेलेंस्कीका अनुसार शनिबार राति रूसले ४०० भन्दा बढी ड्रोन र करिब ४० वटा मिसाइल प्रहार गरेको थियो, जसको निशाना विद्युत् ग्रिड, विद्युत् उत्पादन केन्द्र तथा नेटवर्क टावरहरू थिए। एजेन्सी
प्रकाशित: २५ माघ २०८२ १२:०९ आइतबार





