नारायणी नदी किनार भरतपुर महानगरपालिकाले प्राथमिकतामा राखेको पर्यटकीय स्थल हो। भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन पनि नारायणी नदी किनारबाट नै गरिएको थियो। सोही अनुसार महानगरपालिकाले पर्यटकीय पूर्वाधार निर्माणमा समेत ठुलो रकम खर्च गरिरहेको छ।
तर, पछिल्लो समय नारायणी किनारको सौन्दर्य भने गुम्दै गएको छ। नारायणी किनारमा असोज ११ देखि १२ गतेसम्म आएको बाढीले त्यहाँ निर्माण गरिएका संरचना बगाएर ठुलठुला खाडल बनाउँदै लगेपछि यहाँको सौन्दर्य बिग्रँदै गएको हो।
यस नदी किनारलाई ‘सीबीच मोडल’ मा विकास गर्ने उद्देश्यले नारायणी नदीको पुलबाट उत्तर तर्फ ६ सय ४० मिटर लामो समुन्द्री तट प्रकारको तटबन्धन निर्माण कार्य गरिएको थियो।
२०८० सालमा सो ठाउँमा चाइनिज दुवो, बिरुवा तथा विभिन्न मूर्तिहरू निर्माण गरिएको थियो। ‘सीबीच मोडल’ बनाउन निर्माण भएपछि यहाँको बाढीले नारायणी किनारलाई कुरूप बनाउँदै लगेको थियो। २०८१ सालमा आएको बाढीले त्यतिखेर रोपिएको दुवो भत्काएर लगेको थियो।
त्यसै गरी नारायणी किनारको माथिल्लो भागमा मोज्याक टाइलसमेत लगाइएको थियो। तर, २०८१ र यस पटक आएको बाढीले नारायणी नदी त्यहाँको माटो र बिरुवाहरू बगाएर लगेको छ।
माथिल्लो भागमा रहेको मोज्याक टाइलको समेत नाम निसाना छैन। अधिकांश ठाउँमा बाढीले ठुलठुला खाडल समेत बनाएको छ। हिँड्ने गोरेटो समेत हराएको छ।
नदीले ‘सीबीच मोडल’को तटबन्धमा भने क्षति पुर्याएको छैन। तर, बाढीका कारण मेला महोत्सव तथा मनिङवाक गर्ने स्थानमा क्षति पुग्न गएको ईश्वर जोशीले बताए।
‘सीबीच मोडलले गर्दा बिचको चौरको भाग खाल्टो पारेर लग्यो। भरतपुर महानगरपालिकाले करिब एक करोड रुपैयाँ लगानी गरेर वाकिङ ट्रेल पनि बनाएको थियो। त्यो भाग अहिले केही छैन,’ उनले भने ‘यहाँको सौन्दर्य हराइरहेको छ।’
पहिले चौर भएको स्थानमा कहीँ ताल बनिरहेको छ भने कहीँ बगरमा परिणत भएको छ। यहाँ प्रदेश सरकारले बाढी रोक्नका लागि ठुलठुला ढुंगा ल्याएर राखेको थियो। त्यसले समेत केही असर गरेको छैन।
१६ करोड रुपैयाँको लागतमा नारायणी किनारको चौरलाई कायम राखी नदी कटान रोक्न समुन्द्री किनारको आकारमा तटबन्ध निर्माण गरिएको थियो। तर, नदी बग्ने स्थानमा धेरै लगानी गर्न नहुने नारायणी हेर्न आएका भरतपुरका हरि लम्साल बताउँछन्।
‘पारीबाट यहाँका रमणीय दृश्य हेर्न आउने गर्दथे। अहिले त्यो रमणीय दृश्य उजाड बनेको छ,’ उनले भने ‘पहिला र अहिलेको दृश्य हेर्दा मरुभूमि जस्तो भएको छ।’
नदी किनारमा शीतल हावा लिनका लागि टहलिनेहरूको साँझपख निकै भिड लाग्ने गरेको थियो। मकै पोल्ने, चटपट, पानी पुरी र म.म. चाउमिन जस्ता फाष्टफुड बेच्नेहरूका ठेलाहरू लहरै हुन्थे। तर अहिले ती ठेलाहरू राख्ने ठाउँसमेत छैन।
नदी किनारमा अग्लो बुद्ध प्रतिमा छ। लगभग डेढ किलो मिटरमा लहरै सोलार बत्ती जडान गरिएको थियो। हिँड्नका लागि मोजाइक टायल बिछ्याएको थियो। तर, यो पनि बाढीले अधिकांश भागमा क्षति पुर्याएको छ।
‘सीबिच मोडल’मा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महानगरले यहाँ करोडौँ लगानी गरेको थियो। अहिले बाढीले भत्काएपछि सामाजिक सञ्जालबाट समेत महानगरको विरोध हुन थालेको छ।
उनीहरूले महानगरले सही ठाउँमा लगानी नगरेका भन्दै टिप्पणी गरेका छन्। नारायणगढका रसिक प्रधान क्षणिक लाभका कारण नारायणी नदीलाई कुरूप बनाएको बताउँछन्।
‘राजनीतिको चपेटामा परेको हाम्रो बाल्यकालको साथी नारायणी चौरको कुरूपता,’ उनले फेसबुकमा भिडियो राख्दै लेखेका छन्,‘छातीमा हात राखेर सोच त एक विकास प्रेमीहरू क्षणिकको वाहावाहीका लागि अदूरदर्र्शीतामा बनेको यो सिँढी यो दुर्दशाको कारण हो।’
नारायणगढ तर्फ धेरै भाग अहिलेको बाढीले खोलेको छ। नदी किनारलाई हरियाली तथा धुलोरहित बनाउन पन्ध्र सय स्क्वायर फिटमा दुवो लगाइएको थियो। सो दुबो लगाएको वर्षमा नै नारायणी नदी किनारमा देख्न पाइएको थिएन।
प्रकाशित: १३ आश्विन २०८३ १८:४५ मंगलबार



-600x400.jpg)

