२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

नारायणगढ–मुग्लिन सडक सधैँ जोखिम पूर्ण यात्रा

चितवनका डाक्टर धिरेन्द्र प्रसाद कोइरालाको योजना आइतबार बिहान १० बजे हाजिर गर्न काठमाडौँ पुग्ने थियो । सोही योजना अनुसार रत्ननगर स्थित टाँडीमा रहेको घरबाट कोइराला बिहान पाँच बजे निस्किए तर भरतपुरको रामनगरबाट प्रहरीले उनलाई छिर्न दिएन । नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत तुइन खोलामा ठुलो पहिरो खस्दा कोइराला त्यतै रोकिनु प¥यो ।  

‘बिहान अफिस भेट्ने गरी घरबाट हिँडेको यतै बाटोमा रोकिनुप¥यो,’ ट्राफिक जाम छिचोल्दै नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोलामा दिउँसो साढे एक बजे आइपुगेका डा कोइरालाले भने पहिरो खस्दा रोकिनुको विकल्प भएन।’

तनहुँको आबुखैरहनीका प्रविण गुरुङ यस सडक खण्डमा नियमित यात्रा गर्दछन् । बर्खाको समयमा नारायणगढ–मुग्लिन सडक खण्ड छिचोल्न निकै सकस हुन्छ । सडक माथिबाट खस्ने पहिरोका कारण उनले बर्खामा प्रत्येक वर्ष नै सास्ती खेप्दै आएका छन् । ‘अहिले अधिकांश स्थानमा त पहिरोको जोखिम कम हुँदै गएको छ । तुइन र कालिखोला आसपास त ज्यादै जोखिम छ,’ नारायणगढ तर्फ आउँदै गर्दा आइतबार जाममा परेका गुरुङले भने ‘पहिरो रोकथामको उपाय नअपनाउने हो भने यात्रा सधैँ जोख नै छ ।’

कोइराला र गुरुङले मात्र होइन आइतबार यस सडक खण्डमा यात्रा गरिरहेका यात्रुहरूले सास्ती पाइरहेका थिए । बिहान साढे ४ बजेदेखि गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक आइतबार दुई बजेसम्म अवरुद्ध नै थियो। तुइन खोलामा माथिबाट सुख्खा पहिरो खस्ने क्रम जारी नै छ । पहिरो हटाएको केही समयपछि पुनः खस्छ । पहिरो नझरेको समयमा हेरेर मात्र सवारीसाधन पास गराउने गरेको सडक डिभिजन कार्यालय चितवनका लोडर अपरेटर अमर गुरुङ बताउँछन् । ‘तुइन खोला ज्यादै जोखिम क्षेत्र हो । यहाँ हावाहुरी लाग्दा समेत माथिबाट ढुङ्गा खसेर सडक अवरुद्ध हुन्छ,’ सडक पन्छाइरहेका गुरुङले भने ‘सडक विस्तारसँगै यसले ज्यादै दुःख दिइरहेको छ ।’

असार महिना यता मात्र तुइन खोलामा साना ठुला गरेर १३ वटा पहिरो खसेको छ । सवारी साधन साथै कयौँ यात्रु घाइते भएका छन् । विशेष गरी यस स्थानमा सडक विस्तारपछि पहिरो खस्ने क्रम रोकिएको छैन । यससँगै नारायणगढ–मुग्लिन सडक खण्डको दासढुंगादेखि मुग्लिनसम्म रहेका २४ किलोमिटरमा पहिरोको बढी जोखिम छ । त्यसमध्ये सबैभन्दा जोखिम क्षेत्र २० वटा रहेका छन् । १५ किलो, १६ किलो, १७ किलो, १८ किलो, मौरी टोल, सेती दोभान, सिमलताल, घुमाउने, चोर खोला, नाम्चे पुल, कालि खोला, टोपे खोला बढी पहिरो जान्छ । यसलाई मध्यनजर गर्दै दुई स्थानमा तयारी अवस्थामा जेसिभि र एक्स्काभेटर राख्ने गरिएको सडक डिभिजन कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिए । सोतिदोभान क्याम्पमा एक्साभेटर, लोडर, जेसिबि र ट्रेलर राख्ने गरिन्छ । त्यस्तै मुग्लीन बजारमा एउटा लोडर राखिएको उनले जानकारी दिए । आइतबार ठुलो पहिरो जाँदा सितल बजार र काली खोलामा समेत लोडर राखिएको उनले जानकारी दिए ।

यसलाई दृष्टिगत गर्दै सडक विभागले पहिरो रोक्न १ अर्ब रुपैयाँको हाराहारीमा खर्च गरेको थियो । यद्यपि अझै चुनौती बन्दै गएको छ । विभागले जोखिम क्षेत्रमा ३० हजार वर्ग मिटर क्षेत्रमा पहिरो रोकथामको काम गरेको थियो । फलामे रड गाडेर ससाना ढुङ्गा तथा गेग्रानलाई छोप्ने (रक नेटिङ) र ठूला चट्टानलाई खस्न नदिन ८ मिटर गहिरो प्वाल पारेर फलामे रड छिराएर कस्ने (रक बोल्टिङ) काम भएको थियो ।

दासढुंगादेखि मुग्लिनसम्म रहेका २४ किलोमिटरमा पहिरोको बढी जोखिम छ । नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरिएको थियो । सडक खण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलविरे, चार किलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भएको थियो ।

रक बोल्टिङ र रक नेटिङ प्रविधिबाट गरिएको ठाउँमा आजभोलि पहिरो खसेको छैन । नयाँ ठाउँबाट पहिरो खसिरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्य बताउँछन् । ‘ठ्याक्कै यही स्थानबाट पहिरो जान्छ भन्ने सक्ने अवस्थामा चाहिँ हामी छैनौँ । हामीले सोच्दै नसोचेको स्थानबाट गत वर्ष दुई वटा बस पहिरोले बगायो’, उनले भने ‘विगतमा पहिरो रोकथाम गरिएका स्थानमा पहिरो गएको छैन।’ नयाँ स्थानबाट पहिरो गइरहेको उनले बताए ।  नारायणगढ–मुग्लिन सडक खण्डको दुरी ३६ किलोमिटरको छ । विगतका वर्षमा कालिखोला, मौरी पुलले दुःख दिँदै आएको थियो ।  

यस सडक खण्डमा स्थानीय पालिकाले जथाभाबी सहायक बाटा खोलेका छन् । ठाउँ ठाउँमा नदीजन्य वस्तुको उत्खनन भइरहेको छ । वातावरण प्रभाव मूल्याङ्कन नगरी भइरहेका यस्ता कामले यस खण्डमा झन्भन्दा झन् जोखिम बढिरहेको उनको उनले बताए ।  

यस सडक खण्डमा पहिरो नियन्त्रणका लागि अध्ययन सुरु भएको इन्जिनियर आचार्यले समेत बताए । ‘हामीले पहिरो रोकथामको लागि योजना बनाएका छौँ । विभागबाट स्वीकृत भएको छैन,’ उनले भने ‘स्वीकृत हुनासाथ हामीले काम अगाडि बढाउँछौँ ।’

प्रकाशित: २ भाद्र २०८२ १६:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App