दाङमा पछिल्लो समय तोरी उत्पादनमा उल्लेख्य वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै जाँदा खेतीको क्षेत्रफल र उत्पादन दुवै बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाको तोरी बाहिरी बजारमा पहिचान बनाउँदै गएको केन्द्रका प्रमुख नवराज भण्डारीले बताए।
दाङमा उत्पादित तोरीको तेलको माग काठमाडौँ, पोखरा, चितवन र नेपालगन्जलगायत जिल्लामा बढी रहेको छ। उत्पादन भएको तोरी सहज रूपमा बिक्री हुने भएकाले किसानको सङ्ख्या र क्षेत्रफल दुवै बढेको उनले बताए।
राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ दाङअन्तर्गत तोरी जोन कार्यक्रममा क्षेत्रफलसँगै उत्पादन पनि बढेको छ। आर्थिक वर्ष २०७९/८० मा एक हजार २०० हेक्टरमा तोरीखेती गरी एक हजार ९३२ मेट्रिक टन उत्पादन भएको थियो। आव २०८०/८१ मा सोही क्षेत्रफलमा दुई हजार चार मेट्रिक टन उत्पादन भयो।
आव २०८१/८२ मा एक हजार २४२ हेक्टरमा खेती गरी दुई हजार १२३ दशमलव ८२ मेट्रिक टन उत्पादन भएको थियो भने आव २०८२/८३ मा एक हजार २७८ दशमलव ०२ हेक्टरमा खेती गरी दुई हजार १९८ दशमलव १९ मेट्रिक टन उत्पादन भएको छ। प्रतिहेक्टर उत्पादकत्व १ दशमलव ७२ मेट्रिक टन रहेको छ।
तोरी जोन कार्यक्रम पश्चिम क्षेत्रका दङ्गीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका केही वडामा सञ्चालनमा छ।
परियोजनाले किसानलाई ५० प्रतिशत बीउ अनुदान, प्राविधिक सहयोग तथा प्रविधिमा सहुलियत उपलब्ध गराउँदै आएको छ। किसानले प्रतिक्विन्टल १४ हजार रुपैयाँसम्म तोरी बिक्री गरेको बताएका छन्।
छिटो उत्पादन लिन सकिने बाली भएकाले गहुँ खेती गर्ने किसानसमेत तोरीखेतीतर्फ आकर्षित भएका छन्। जिल्लामा सबैभन्दा बढी शान्तिनगर, बबई र दङ्गीशरणमा व्यावसायिक रूपमा तोरीखेती भइरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ।
प्रकाशित: ५ फाल्गुन २०८२ १०:५० मंगलबार





