मुग्लिन–नारायणगढ सडक खण्ड दुईतर्फी खुल्न नपाउँदै मंगलबार दिउँसोदेखि फेरि बन्द भएको छ । चितवनको तुइनखोला पुल नजिकै ठूलो सुक्खा पहिरो खसेपछि मंगलबार दिउँसो १ बजेदेखि सडक अवरुद्ध भएको हो ।
आवतजावत दिउँसो १ बजेदेखि नै दुईतर्फी नै बन्द भएको र बेलुका ४ः५५ बजे ठूलो पहिरो झरेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार निरन्तर ढुङ्गासहित पहिरो झरिरहेका कारण तत्काल पहिरो हटाउने सम्भावना छैन ।
तुइन खोलामा पछिल्ला १० दिनयता दिनदिनै पहिरो खसेर बाटो थुनिने गरेको छ । शुक्रबार अघि ठूलो पहिरो नआए पनि माथिबाट सडकमा खस्ने ढुंगाले झनै जोखिम बढाएको थियो । शुक्रबार साँझ साढे ६ बजे आएको ठुलो पहिरोले झण्डै ४६ घण्टा सडक अवरुद्ध हुन पुग्यो । निरन्तर माथिबाट ढुंगा खसिरहेपनि शनिबार र आइतबार दिनभर पहिरो पन्छाएपछि आइतबार साँझ साढे चार बजेदेखि एकतर्फी सडक खुलेको थियो । ढुंगा खस्ने जोखिम भएपछि जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति ९ बजेदेखि बिहान ५ बजेसम्म सडक बन्द गर्यो । सोमबार बिहानबाट एकतर्फी सडक खुलेको थियो । पुनः सोमबार दिउँसो १ बजेदेखि साढे ५ बजेसम्म सडक बन्द गरेर पहिरो हटाएपछि दुईतर्फी सडक खुलाउन सडक डिभिजन कार्यालय सफल भएको थियो ।
आज (मंगलबार) बिहानदेखि ढुंगा झरिरहेको थियो । ढुंगा हटाउँदै सवारी आगामन एकतर्फी रुपमा सञ्चालन गरेपनि एक बजेदेखि निरन्तर ढुंगा झरेको झ¥यै भएपछि कामै सुरू हुन सकेको थिएन । झन् साँझ ४ः५५ बजेको समयमा माथिबाट पहाडै खसेर सडक पूर्णरुपमा ढाकेको सूचना अधिकारी आचार्यले जानकारी दिए ।
‘आजको रात पनि पहिरो पन्छाउने अवस्था छैन, उनले भने ‘सडक कहिले खुल्ने वा नखुल्ने भन्ने अझै निश्चित भइरहेको छैन।’ तुइन खोला पहिरोको अति जोखिम क्षेत्र हो । यहाँ निरन्तर ढुंगा खसिरहँदा कयौँ सवारी साधनमा क्षती पुगेको छ । असार महिनायता मात्रै साना ठुला गरेर ३२ पटक पहिरो खसेको छ ।
डिभिजन कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ । मुग्लिन–नारायणघाटको विकल्पमा नौबीसे–दामन–हेटौँडा र कालीगण्डकी करिडोरको मुग्लिन–भीमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिने उनले बताए । सडक अवरुद्ध हुँदा दशैँमा घर हिँडेका हजारौँ यात्रुहरु अलपत्र परेका छन् । बिहान धादिङमा गएको पहिरोका कारण काठमाडौँ तर्फ जाने गाडिको जाम मुग्लिन कुरिन्टार क्षेत्रमा सवारी साधनको चाम अधिक छ । नारायणगढ तर्फ पनि हजारौँ सवारी साधन रोकिन पुगेका छन् ।

प्रकाशित: ७ आश्विन २०८२ १९:०७ मंगलबार





