विदेशबाट फर्किएर यहाँ शैलुन व्यवसाय चलाउँदै आएका एक युवाले पाँच हजार २०० जनालाई कपाल काट्ने तालिम दिएका छन्। उनीहरूमध्ये १२० जनालाई उनले निःशुल्क तालिम दिएका हुन्।
भरतपुरका सुलभ सिग्देलले यहाँको सिजी ल्याण्डमार्कमा पपुलर शैलुन चलाउँदै छन्। उनले त्यहीबाट तालिम र कपाल काट्दै छन्। बाह्र वर्षअघि तीन वर्ष विदेश बसेर फर्किएका सिग्देलसँग तालिम लिएका ३२ जनाले चितवन र आसपासका क्षेत्रमा शैलुन चलाउँदै आएका छन्।
उनले भने, “यहाँ सिकेर नेपाल र विदेशमा अरूको सैलुनमा काम गर्ने धेरै छन्।” विभिन्न सङ्घसंस्थाको साझेदारीमा धेरै तालिम सञ्चालन गरेको उनले बताए। निजी खर्चमा तालिम लिन आउनेहरू पनि प्रशस्त हुन्छन्। पछिल्ला वर्षहरूमा शैलुन सुरु गरेको दिन पारेर निः शुल्क तालिम समेत दिने गरेको उनले बताए।
यस वर्ष उनले १०१ युवालाई निःशुल्क सीपमूलक तालिम घोषणा गरेका छन्। सिग्देलले आफ्नो कम्पनी पपुलर जागरण प्रालिले स्थापना दिवसको अवसर पारेर युवालाई निःशुल्क सीपमूलक तालिम दिने घोषणा गरेका हुन्।
पपुलरले सामाजिक उत्तरदायित्व अन्तर्गत कपाल काट्ने, उद्घोषण, कपडाको झोला बनाउने, टपरी बुन्ने र लागुऔषध दुर्व्यवसनी सम्बन्धी सचेतनामूलक तालिम दिन लागेको उनले बताए।
कपाल काट्ने तालिम २१ जना, उद्घोषण तालिम २० जना, कपडाको झोला बनाउने तालिम २० जना, टपरी बुन्ने तालिम २० जना र लागुऔषध दुर्व्यसनी न्यूनीकरण सम्बन्धी तालिम २० जनाभन्दा बढीलाई दिइने उनले बताए।
“नेपालमै स्वरोजगार बन्न चाहनेका लागि प्राथमिकतामा राखिनेछ”, उनले भने, “विदेश पलायन हुने क्रमलाई केही हदसम्म भए पनि कम गर्न सहयोग पुग्नेछ।”
सरकारी विद्यालयमा पढ्ने विद्यार्थीलाई टपरी बुन्ने तालिम दिइने उनले बताए। “विद्यार्थीदेखि विदेशबाट फर्किएका युवायुवतीलाई लक्षित गरी हामीले तालिम दिन लागेका हौं”, उनले भने, “सबै तालिम हामीले एक महिनामा दिइसक्छौं।”
नब्बे घण्टा लामो कपाल काट्ने तालिम एक महिनामा सक्ने लक्ष्य रहेको उनले बताए। व्यावसायिक रूपमा कपाल काट्ने तालिम लिने एकजनाबाट ३० हजार रूपैयाँ लिने गरिएको उनले बताए।
प्रकाशित: ७ श्रावण २०८२ १३:०१ बुधबार