हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजना गरिएको पालिकास्तरीय खुला पुरुष भलिबलको उपाधि नरेठाँटी भलिबल क्लब गलकोटले जितेको छ।
गलकोटले आइतबार भएको फाइनलमा जैमिनी नगरपालिकालाई ३–१ ले हराउँदै उपाधि चुमेको हो। फाइनल खेलको पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै ३–१ को जित निकाल्न सफल भयो।
पहिलो सेट २६–२४ ले जित्न सफल भएको जैमिनी नगरपालिका दोस्रो सेट सम्हालिन नसक्दा २५–१९ ले गुमाउन पुग्यो। तेस्रो सेटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सेट पोइन्टमा पुगेको जैमिनी सेट जित्नबाट चुक्यो। २४–२१ को अवस्थाबाट पुरागमन गर्दै गलकोटले तेस्रो सेट पनि २९–२७ ले आफ्नो पक्षमा पार्न सफल भयो।
गलकोटले चौथो सेट २५–२१ ले जित्दै उपाधि हात पार्न सफल भयो। उपाधि जितेको नरेठाँटी भलिबल क्लब, गलकोटले नगद एक लाख ५० हजार जित्दा जैमिनी नगरपालिकाले नगद एक लाख प्राप्त गर्यो। तेस्रो भएको कुस्मा नगरपालिकाले ५० र सान्त्वना भएको बागलुङ नगरपालिकाले नगद २५ हजार प्राप्त गरे।
प्रकाशित: ७ मंसिर २०८३ ०९:१६ सोमबार


-600x400.jpg)


