उदयपुर र भोजपुरको सीमास्थित दुधकोशी नदीमा पाँच वर्षदेखि अलपत्र परेको चुहार मोटरेबल पुलको निर्माण कार्य पुनः सुरु हुने भएको छ। पुलको डिजाइन संशोधन र भेरिएसन स्वीकृत भएपछि निर्माणले गति लिने भएको हो।
प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री जीवन आचार्यले आइतबार प्राविधिक टोलीसहित निर्माणस्थलको अनुगमन गर्दै आगामी १८ महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएका छन्। निर्माण व्यवसायीसँग २०८४ असार मसान्तसम्म पुल सम्पन्न गरी हस्तान्तरण गर्ने सहमति भएको उनले बताए।
नदीमा बाढीको सतह बढ्ने जोखिमका कारण पुरानो डिजाइनमा एक मिटर उचाइ थपेर नयाँ डिजाइन स्वीकृत गरिएको हो। यससँगै पुलको लागत ४ करोड ८५ लाख २४ हजार रुपैयाँले बढेको छ। प्रदेश पूर्वाधार विकास निर्देशनालयका अनुसार संशोधित लागत २६ करोड ८ लाख ३६ हजार रुपैयाँ पुगेको छ।
१८.९० मिटर लामो र साढे १० मिटर चौडा स्टिल ट्रस पुलको भौतिक प्रगति हालसम्म १९.७० प्रतिशत र वित्तीय प्रगति १९.५० प्रतिशत रहेको छ।
तत्कालीन मुख्यमन्त्री शेरधन राईले २०७७ असोज २६ गते दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पुलको शिलान्यास गरेका थिए। तर, प्राविधिक समस्या र डिजाइन संशोधनका कारण काम रोकिएको थियो।
उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी र भोजपुरको हतुवागढी गाउँपालिका–९ हसनपुर जोड्ने पुल नबन्दा दक्षिणी भोजपुरका बासिन्दाले तराईका बजार र प्रदेश राजधानी विराटनगर पुग्न धनकुटा तथा सुनसरी हुँदै लामो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ। पुल बनेपछि आवागमन र सामान ढुवानी सहज हुने स्थानीयको अपेक्षा छ।
प्रकाशित: ७ मंसिर २०८३ १६:३९ सोमबार



-600x400.jpg)

-600x400.jpg)