७ मंसिर २०८३ सोमबार
image/svg+xml
समाज

भीमफेदी दुर्घटनाको अध्ययन प्रतिवेदन : चालकको मानसिक र शारिरिक थकान प्रमुख कारण

मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा १४ जनाको ज्यान जाने गरी भएको दुर्घटनामा चालकको थकान र क्षमताभन्दा बढी यात्रु बोकिएको तथ्य छानबिन प्रतिवेदनले औँल्याएको छ। दुर्घटनाग्रस्त हाइसका चालक रविशंकर कुमार मण्डलले पछिल्लो ४८ घण्टा ४५ मिनेटमा ३३ घण्टा ४५ मिनेट गाडी चलाएको पाइएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गठन गरेको छानबिन समितिका अनुसार चालकले उक्त अवधिमा एकाध घण्टामात्र विश्राम गरेका थिए। दुर्घटनाअघि काठमाडौं आइपुगेपछि उनले एक घण्टामात्रै आराम गरेर बिहान २ बजे २० जना यात्रु लिएर मलंगवातर्फ यात्रा सुरु गरेका थिए। बिहान ५ बजेर ४५ मिनेटमा चिसापानी गढीमा गाडी दुर्घटनामा परेको थियो।

प्रतिवेदनअनुसार ११ जना यात्रु क्षमताको उक्त हाइसमा चालकसहित २० जना सवार थिए। लगातार लामो समय गाडी चलाउँदा भएको शारीरिक तथा मानसिक थकानले चालकको एकाग्रता र तत्काल निर्णय गर्ने क्षमतामा असर पारेको हुन सक्ने समितिको निष्कर्ष छ। यद्यपि चालक निदाएको वा अचेत भएको पुष्टि भएको छैन।

दुर्घटनास्थलको सडक अवस्था र सवारीको प्राविधिक पक्षसमेत अध्ययन गरेको समितिले घुम्तीअनुसार गाडीले दिशा परिवर्तन नगरी सडक छाडेर जंगलतर्फ गएको प्रत्यक्षदर्शीको भनाइ प्रतिवेदनमा समेटेको छ। दुर्घटनाका बेला विपरीत दिशाबाट अर्को सवारी नआएको र गाडीको बत्ती बलिरहेको पनि उल्लेख छ।

सवारी भिरको तल खसेर ब्रेक, स्टेयरिङलगायतका प्रणाली पूर्ण रूपमा क्षतिग्रस्त भएकाले विस्तृत प्राविधिक परीक्षण गर्न नसकिएको समितिले जनाएको छ।

समितिले चालकको कार्यअवधि र विश्रामको स्पष्ट मापदण्ड बनाउन, लामो दूरीमा वैकल्पिक चालक राख्न तथा क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीधनी र सञ्चालकलाई पनि जिम्मेवार बनाउन सुझाव दिएको छ। जोखिमयुक्त सडकमा सुरक्षा बार र चेतावनी संकेत राख्न तथा चालकको थकान निगरानी गर्ने प्रविधि लागू गर्न पनि सिफारिस गरिएको छ।

गत कात्तिक २६ गते भएको दुर्घटनामा चालकसहित १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। मृतकमध्ये चालकबाहेक सबै सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका बासिन्दा थिए। एउटै परिवारका छ सदस्यले समेत ज्यान गुमाएका थिए।

प्रकाशित: ७ मंसिर २०८३ १९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App