सिंगापुरमा सन् २०२७ मा कर्मचारीको तलब वृद्धि सामान्य रहने देखिएको छ। तर, कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा र तथ्याङ्क विश्लेषणजस्ता क्षेत्रमा दक्षता भएका कर्मचारीले भने तुलनात्मक रूपमा बढी तलब पाउने सम्भावना छ।
रोजगारदाता कम्पनी र नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब अपेक्षाबीच ठूलो अन्तर देखिएको एक सर्वेक्षणले जनाएको छ।
भर्ना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी संस्था रोबर्ट वाल्टर्सले सोमबार सार्वजनिक गरेको सर्वेक्षणअनुसार सिंगापुरका ९६ प्रतिशत कम्पनीले सन् २०२७ मा आफ्ना कर्मचारीको तलब बढाउने योजना बनाएका छन्। तीमध्ये ६५ प्रतिशत कम्पनीले हाल कार्यरत कर्मचारीको तलब कम्तीमा तीन प्रतिशतले बढाउने तयारी गरेका छन्।
गत सेप्टेम्बरमा सिंगापुरका ५७९ जना पेसाकर्मी तथा कम्पनीका प्रतिनिधिबीच गरिएको सर्वेक्षणमा हालकै पदमा काम गरिरहनेमध्ये ३६ प्रतिशतले आगामी वर्ष तीनदेखि छ प्रतिशतसम्म तलब वृद्धि हुने अपेक्षा गरेका छन्। त्यस्तै, १५ प्रतिशतले कम्तीमा सात प्रतिशत तलब बढ्ने अनुमान गरेका छन्।
तर, नयाँ रोजगारी खोजिरहेका व्यक्तिको तलब अपेक्षा भने रोजगारदाता कम्पनीको योजनाभन्दा निकै बढी छ। नयाँ कर्मचारी नियुक्त गर्दा करिब आधा रोजगारदाता कम्पनीले कम्तीमा छ प्रतिशत तलब वृद्धि दिने योजना बनाएका छन्। तर, नयाँ रोजगारी खोजिरहेका ७५ प्रतिशत पेसाकर्मीले १० प्रतिशतभन्दा बढी तलब वृद्धि पाउने अपेक्षा गरेका छन्।
रोजगारदाता र रोजगारी खोज्ने व्यक्तिको अपेक्षाबीचको यो अन्तरले नयाँ कर्मचारी भर्ना गर्दा कम्पनीहरूलाई चुनौती हुन सक्ने देखिएको छ।
सर्वेक्षणअनुसार सिंगापुरका ७८ प्रतिशत पेसाकर्मी सन् २०२७ मा नयाँ रोजगारी खोज्ने सोचमा छन्। तर, नयाँ अवसर पाउनेमा ४८ प्रतिशत मात्र विश्वस्त देखिएका छन्।
त्यस्तै, कृत्रिम बुद्धिमत्ता (एआई), तथ्याङ्क विश्लेषण, साइबर सुरक्षा, क्लाउड कम्प्युटिङ तथा विशिष्टीकृत वित्तीय सेवाजस्ता क्षेत्रमा दक्ष जनशक्तिको माग उच्च रहने अनुमान गरिएको छ। यी क्षेत्रमा आवश्यक सीप भएका कर्मचारीले आगामी वर्ष पनि तुलनात्मक रूपमा बढी तलब पाउने सम्भावना छ।
विशेषगरी प्राविधिक ज्ञान भएका र आफ्नो कामबाट कम्पनीको व्यावसायिक उपलब्धिमा प्रत्यक्ष योगदान पुर्याउन सक्ने कर्मचारीले बढी पारिश्रमिक पाउने अपेक्षा गरिएको छ।
समग्रमा सिंगापुरको श्रम बजारमा सन् २०२७ मा तलब वृद्धि जारी रहने भए पनि सबै कर्मचारीले समान लाभ पाउने देखिँदैन। सामान्य क्षेत्रमा तलब वृद्धि सीमित रहने र उच्च माग भएका क्षेत्रमा दक्षता हासिल गरेका कर्मचारीले बढी लाभ पाउने सर्वेक्षणले देखाएको छ। एजेन्सी
प्रकाशित: ७ मंसिर २०८३ १९:०६ सोमबार





