मानव अस्तित्वका लागि चुनौती बनेको जलवायु संकट समाधानमा ठोस निर्णय गर्न र आशा जगाउन भूमध्यसागरको किनारमा रहेको सुन्दरतम सहर अन्तल्यामा आयोजित जलवायु सम्मेलन अपेक्षित नतिजाबिना टुंगिएको छ।
सम्मेलनको अन्त्यमा अध्यक्षका तर्फबाट जारी गरिने निर्णय ‘कभर डिसिजन’समेत यसपटक जारी नहु्ने भएको छ। अध्यक्षका तर्फबाट जारी गरिएको ‘अन्तल्या प्याक्ट’ नाम दिइएको ‘कभर डिसिजन’को चौथो मस्यौदाले विश्वव्यापी तापमान वृद्धिलाई रोक्न असफल भएको भन्दै इयु, पनामा, नर्वे, मार्सल आइल्यान्ड, बेलायतका साथै अल्पविकसित राष्ट्रको समूहले त्यसलाई ‘अस्वीकार’ गरेका थिए।
पहिलोपटक दुई वटा देश (टर्की र अस्ट्रेलिया) ले संयुक्त रूपमा यो सम्मेलनको आयोजना गरेका थिए। मस्यौदा निर्णय पारित नहुनुलाई संयुक्त राष्ट्र संघीय जलवायु सम्मेलनका आयोजक रहेका दुवै राष्ट्रको कूटनीतिक असफलताका रूपमा हेरिएको छ। सहअध्यक्षका रूपमा अस्ट्रेलियाले जलवायु वार्ताको संयोजन गरेको थियो भने सम्मेलनस्थल टर्कीमा थियो।
विश्वमा जलवायु परिवर्तनको संकट झन् गहिरिँदै गएको र विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य संकटमा परेको पृष्ठभूमिमा टर्कीको अन्तल्यामा सम्मेलन आयोजना भएको थियो।
विश्व तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने पेरिस सम्झौताको लक्ष्य, जीवाश्म इन्धनको प्रयोगबाट बाहिरिने प्रतिबद्धता, विकासशील तथा जलवायु जोखिममा रहेका मुलुकलाई उपलब्ध गराउने वित्तीय सहायता, अनुकूलन र जलवायुजन्य क्षति तथा नोक्सानीको सम्बोधन जस्ता सम्मेलनका प्रमुख विषयमा मुलुकहरूबिच सहमति जुट्न सकेनन्।
अनुकूलनका लागि विकासशील मुलुकलाई वार्षिक १२० अर्ब अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावसमेत अन्तिम मस्यौदाबाट हटाइएको थियो। यसैगरी जलवायु संकटको सामना गर्न सबैभन्दा बढी प्रभावित मुलुकलाई आवश्यक पर्ने वित्तीय सहयोग र न्यायपूर्ण ऊर्जा संक्रमणका विषयमा पनि यसपटक अपेक्षित प्रगति हुन सकेन।
कतिपय जलवायु अभियन्ता र जलवायु न्यायका कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाले यो सम्मेलनलाई इतिहासकै असफल सम्मेलनको संज्ञा दिएका छन्। इयुका प्रतिनिधिलगायत यी संस्थाहरूले कोप–३१ लाई तेल उत्पादन गर्ने राष्ट्रले अपहरण गरेको आरोप लगाएका छन्।
विशेष गरी जीवाश्म इन्धनको प्रयोग घटाउँदै त्यसबाट बाहिरिने स्पष्ट प्रतिबद्धता गर्ने विषयमा निर्णय नभएको उनीहरूको विरोध गरेका हुन्। टर्कीको पर्यटकीय सहर अन्तल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) सहभागिताका दृष्टिले इतिहासकै ठुलो जलवायु सम्मेलन बनेको थियो।
सम्मेलनमा ९२ हजारभन्दा बढी प्रतिनिधिले भौतिक सहभागिताका लागि नाम दर्ता गराएका थिए। सम्मेलनका क्रममा सार्वजनिक गरिएको पछिल्लो विवरणअनुसार दर्ता हुनेको संख्या एक लाख १९ हजार नाघेको थियो।
यसैगरी यो इतिहासकै धेरै लामो समयसम्म चलेको सम्मेलन बनेको छ। यसअघि सन् २०१९ मा स्पेनको म्याड्रिडमा भएको कोप–२५ मा सदस्य राष्ट्रहरूबिच सहमति जुट्न नसक्दा निर्धारित समयभन्दा थप दुई दिन र दुई रात वार्ता लम्बिएको थियो। अन्ततः विभिन्न पक्षबिच सम्झौता भएपछि मात्रै वार्ता टुंगिएको थियो।
नेपालका तर्फबाट समापन प्लेनरीमा बोल्दै कोप–३१ को समापन पूर्ण सत्रमा नेपालको कृषि, वन तथा वातावरण मन्त्रालयका प्रवक्ता डा. महेश्वर ढकालले वार्ता प्रक्रियामा अध्यक्षताको प्रयासप्रति आभार व्यक्त गर्दै अन्तिम निर्णयमा पनि नेपालले प्राप्त गरेको ऐक्यबद्धता प्रतिबिम्बित हुनुपर्ने बताएका थिए। ‘सबै पक्षलाई थाहै छ, नेपाल आशा र अपेक्षा बोकेर अन्ताल्या आएको थियो। वार्ताका क्रममा नेपालले अन्तर्राष्ट्रिय समुदायबाट उल्लेखनीय ऐक्यबद्धता प्राप्त गर्यो। अब सदस्य राष्ट्रहरूबिच हुने अन्तिम निर्णयमा पनि त्यही ऐक्यबद्धता प्रतिबिम्बित भएको देख्न नेपाल चाहन्छ,’ उनले भनेका थिए।
सम्मेलनको अन्त्यमा अध्यक्षका तर्र्फबाट जारी हुने कभर डिसिजन जारी हुन नसकेपछि पर्वतीय मुद्दालाई संस्थागत रूपमा अघि बढाउन यसअघि अगाडि बढेको कार्ययोजनासम्बन्धी प्रस्ताव पनि संकटमा परेको छ।
आइतबार सबेरै कोपका अध्यक्षताको तर्फबाट पर्वत र जलवायु प्रस्तावित गरिएको चौथो मस्यौदा निर्णयमा पर्वत र जलवायु परिवर्तनलाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन प्रारूप महासन्धि (युएनएफसिसिसी) अन्तर्गतका कार्यन्वयनसंम्बन्धी सहायक निकाय (एसबिआई) र वैज्ञानिक तथा प्राविधिक परामर्शसम्बन्धी सहायक निकाय (एसबिएसटिए) अन्तर्गतको कार्ययोजनामा राखिने उल्लेख थियो।
अध्यक्षका तर्फबाट ‘कभर डिसिजन’ जारी नहुँदा पर्वत र जलवायु परिवर्तनसम्बन्धी कार्ययोजना अगाडि नबढे पनि सहायक निकायका तर्फबाट यी विषयमा अनुसन्धान र संवाद गर्ने निर्णय कायम रहेको कृषि, वन तथा पर्यावरणमन्त्रीका सल्लाहकार अभिषेक श्रेष्ठले बताए।
प्रकाशित: ७ मंसिर २०८३ ०९:२८ सोमबार





