संघ र प्रदेश सरकारको रस्साकसीले लामो समयदेखि अलपत्र परेको विराटनगरको बैजनाथपुरस्थित क्रिकेट रंगशाला कसले बनाउने भन्ने विषय यतिबेला पुनः पेचिलो बनेको छ।
निर्माण सुरु भएको ११ वर्षसम्म पनि अलपत्र बनेको रंगशाला बनाउने विषयमा संघ र प्रदेश सरकार दुवैले चासो मात्रै राखेका छैनन्; तीन वर्षभित्र सम्पन्न गर्ने घोषणा पनि गरेका छन्।
शनिबार मात्रै प्रधानमन्त्री बालेन्द्र साहले नेपाल प्रिमियर लिग (एनपिएल) को छैटौं संस्करणदेखि ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी विराटनगरको वैजानथापुर क्रिकेट रंगशालासहित सबै आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण गर्ने सामाजिक सञ्जालमार्फत घोषणा गरे।
सञ्जालमा लेख्दै उनले ती क्रिकेट रंगशाला नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालयले निर्माण गरिदिने बताए। साहले आगामी तीन महिनाभित्र सबै रंगशालाको निर्माण प्रक्रिया अघि बढाइने दाबीसमेत गरेका छन्।
यस्तै कोसी प्रदेश सरकारले पनि तीन वर्षभित्र विराटनगर १९ बैजनाथपुरस्थित क्रिकेट रंगशाला निर्माण गर्ने मन्त्रिपरिषद्को बैठकबाटै निर्णय गरेको छ।
अन्तर्राष्ट्रिय मापदण्डको पूर्वाधारसहितको सुविधासम्पन्न क्रिकेट रंगशाला निर्माणका लागि बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला संघ सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण प्रक्रिया अघि बढाउने मन्त्रीपरिषद्को बैठकबाट निर्णय गरिएको थियो तर हालसम्म बैजनाथपुर क्रिकेट रंगशालाको हस्तान्तरण प्रक्रिया अघि नबढेको कोसी प्रदेशकी सामाजिक विकासमन्त्री गीता तिम्सिनाले बताइन्।
उनका अनुसार दसैं तिहारलगायतका चाडवाडका कारण मन्त्रीपरिषद्को निर्णय कार्यान्वयनमा लैजान नसकिएको स्पष्ट पारिन्। तिम्सिनाले गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला निर्माण गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनमा लैजान तत्कालै काम थाल्ने स्पष्ट पारिन्। ‘लामो बिदाका कारण सरकारको निर्णय कार्यान्वयनमा ढिलाइ भएको हो’, उनले भनिन्, ‘अब, कार्यालय खुलिसकेका कारण क्रिकेट रंगशाला निर्माण गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयनका लागि संघ सरकारसँग पहल थाल्नेछु।’
मन्त्री तिम्सिनाले प्रदेश सरकारले नै रंगशाला बनाउने दाबी पनि गरिन्। ‘क्रिकेट रंगशाला कोसी प्रदेश सरकारले नै बनाउँछ’, उनले भनिन्, ‘यस विषयमा विराटनगर महानगरपालिकासँग पनि कुराकानी भइसकेको छ।’
रंगशाला निर्माणको घोषणा गर्न प्रदेश सरकार र संघीय सरकारबिच होडबाजी चलिरहँदा विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाले भने दुरवस्था भोगिरहेको छ। संघीय सरकारमातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मत–सम्भार नगरिएका कारण दुरवस्था भएको हो।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा क्रिकेटलगायतका विभिन्न खेलहरू आयोजना गरिएको थियो तर त्यसपछि यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेका कारण विगत चार वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेको छैन।
क्रिकेट रंगशाला मात्रै नभई रंगशालापरिसरमा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्।
राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्हारमा सरकारले कुनै चासो राखेको छैन। सरकारको बेवास्ताको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको हरेक वर्ष सरकारले बजेट भाषणमा घोषणा गर्दै आएको छ।
हरेक वर्षको बजेट भाषणमा विराटनगरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्रीले बताउने गरेका छन्।
चालु आर्थिक वर्ष संघ सरकारले मात्रै नभई कोसी प्रदेश सरकारले समेत रंगशाला निर्माणका लागि भन्दै बजेट विनियोजन गरेको छ। संघीय सरकारले यो रंगशालाका लागि विनियोजन गरेको चालु आर्थिक वर्षको बजेट डिपीआर निर्माणका लागि भएको जनाइएको छ।
यो रंगशालामा क्रिकेट मात्रै नभई बहुउद्देश्यीय खेलका पूर्वाधार निर्माण गर्न सकिने प्रशस्त जग्गा रहेको छ। फुटबललगायतका खेल मैदान निर्माणका लागि भन्दैं यसअघि पनि संघीय सरकारले डिपीआर निर्माण गरिसकेको छ।
सरकार फेरिएपिच्छे रंगशाला बनाउने घोषणा गर्ने तर डिपीआर मात्रै बनाएर बजेट खर्च गर्ने प्रवृत्तिले हाल पनि निरन्तरता पाएको छ। चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको बजेट रंगशालाको डिपीआर तयार पार्ने प्रयोजनका लागि भएको मोरङ क्षेत्र नं ४ का सांसद सन्तोष राजवंशीले बताए।
उनका अनुसार डिपीआर तयार भएपछि रंगशालाको भौतिक पूर्वाधार निर्माण सुरु हुने छ। यस अघि पनि खेलकुदमन्त्री डिगबहादुर लिम्बुको कार्यकालमा रंगशाला निर्माणका लागि २ अर्ब ९६ करोड रुपैयाँ लागत अनुमानसहितको डिपीआर तयार पारिएको थियो।
पूर्वमन्त्री लिम्बुका अनुसार तत्कालीन सरकारले मुलपानीमा साढे ६ अर्ब, भरतपुरमा ३ अर्ब र विराटनगरमा करिब ३ अर्बकै डिपीआर बनाएर काम थाल्ने तयारी गरेको थियो। अन्य क्रिकेट रंगशाला निर्माणको काम अघि बढेको भए पनि विराटनगरको रंगशालालाई सरकारले वेवास्था गरेको उनको गुनासो छ।
यो रंगशाला एक दशकअघि निर्माणको काम सुरू गरिएको थियो। रंगशालाको निर्माण २०७१ सालदेखि चरणबद्ध रूपमा सुरु गरिएको थियो। प्रारम्भिक डिजाइनअनुसार करिब २५ हजार दर्शक अट्ने प्यारापिट, अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान, आधुनिक ड्रेसिङ रुम, मिडिया सेन्टर, भिआइपी प्यारापिट, अभ्यास मैदान, फ्लडलाइट, डिजिटल स्कोरबोर्ड, पार्किङ क्षेत्र तथा प्रशासनिक भवन निर्माण गर्ने योजना बनाइएको थियो। यस रंगशालामा सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरू सञ्चालन भइसकेका छन्।
सातौं राष्ट्रिय खेलकुदमा क्रिकेट, ब्याडयिमन्टनलगायतका विभिन्न खेलका प्रतियोगिता यस मैदानमा सञ्चालन भएका थिए तर उक्त प्रतियोगितापछि निर्माण गरिएका पूर्वाधारको प्रयोग र मर्मतसम्हारसमेत नगरिएका कारण क्रिकेटलगायतका सबैजसो पूर्वाधारहरू जीर्ण भइसकेका छन्।
विगतममा क्रिकेटका राष्ट्रिय स्तरका खेलहरू सञ्चालन गरिएको यो रंगशाला यतिवेला सर्प र स्याल लुक्ने झाडीमा परिणत भएको छ। राष्ट्रिय गौरवको आयोजना घोषणा गरेर दुरवस्थामा पुर्याउने सरकारले अझै पनि रंगशाला निर्माणको डंका पिट्न भने छाडेको छैन।
सातौं राष्ट्रिय खेलकुदका लागि ५५ लाख रुपैया“ लागतमा मैदानमा माटो भर्ने, झार बिछ्याउने, क्रिकेट पीच तयार पार्नेलगायतका काम भएका थिए। अन्तर्राष्ट्रिय स्तरका खेलहरूसमेत खेलाउन सकिने यो क्रिकेट मैदान नेपालको सबैभन्दा ठुलो भएको दाबी पनि गरिएको थियो। रंगशाला ८० मिटर बाउन्ड्री भएको ७३ यार्डको छ। क्रिकेट मैदानमा तीनवटा पिच पनि निर्माण गरिएको थियो।
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितापछि पनि यस रंगशालामा राष्ट्रिय तथा स्थानीयस्तरका प्रतियोगिता निरन्तर आयोजना भइरहेका थिए। गाईबस्तु चर्ने चौरका रुपमा रहेको यो क्रिकेट रंगशालामा तारबार गर्ने काम पनि भएको थियो।
क्रिकेटको स्कोर बोर्डदेखि अन्य पूर्वाधार पनि निर्माण गरिएका थिए। तर, राजनीतिक खिचातानी, संघ, प्रदेश र स्थानीय तहवीचको मतभेदका कारण हाल रंगशाला झाडीमा परिणत भइसकेको छ।
प्रकाशित: ७ मंसिर २०८३ १०:३४ सोमबार




-600x400.jpg)
