तनहुँको भानु नगरपालिका-१० मा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा भानु नगरपालिका-१० तल्लो मैदानका ४५ वर्षीय मोटरसाइकल चालक शंकर पाण्डे र मोटरसाइकलको पछाडि सवार ६५ वर्षीय टंकनीति पाण्डे रहेका छन्।
आइतबार बिहान अन्दाजी ९:४५ बजे हटिया-चिसापानी भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो। हटियाबाट चिसापानीतर्फ जाँदै गरेको ग १९ प ८०६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल प्रहरी टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। गम्भीर घाइते भएका चालक शंकरलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर र टंकनीतिलाई प्रदेश अस्पताल लमजुङ पठाइएको थियो।
उपचारका लागि अस्पताल पठाइएका दुवै जनाको मृत्यु भएको हो।
प्रकाशित: १८ आश्विन २०८३ १५:०५ आइतबार





