१९ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

प्रधानमन्त्री दैवी प्रकोप कोषमा मदरल्याण्ड माविको ८ लाख १५ हजार

पोखराको मदरल्याण्ड माविका विद्यार्थी रेडक्रस कास्कीलाई राहत सामाग्री बुझाउँदै। तस्बिरः नागरिक

रसुवा भोटेकोशीमा आएको बाढीले पीडित बनेका नागरिकको राहत, उद्धार र पुर्नस्थापनाका लागि पोखरा महानगरपालिका–७, मासवारस्थित मदरल्याण्ड माविले ८ लाख १५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेको छ। विद्यालयले शुक्रबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम जम्मा गरेको हो।  

विद्यालयका प्राचार्य डा.नारायण बरालका अनुसार कोषमा रकम जम्मा गर्ने बाहेक विद्यालयको जुनियर रेडक्रस सर्कलमार्फत संकलित राहत सामाग्री जिल्ला रेडक्रस सोसाइटी कास्कीलाइ हस्तान्तरण गरिएको छ। बाढी पीडितहरुको सहयोगार्थ काइन्डनेस क्लव मदरल्याण्डका सदस्य विद्यार्थीको सक्रियतामा विद्यार्थी, शिक्षक, कर्मचारी एवं विद्यालयको तर्फबाट प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरिएको उनले बताए।  

‘प्राकृतिक विपत्लाई हामीले रोक्न त सक्दैनौ, तर, त्यसबाट हुन सक्ने हानि नोक्सानीलाई जनचेतना र थप सजगता मार्फत धेरै हदसम्म कम गर्न सकिन्छ। हरेक विपतले हामीलाई थप सिक्ने मौका प्रदान गरेको छ,’ प्राचार्य बरालले भने, ‘विद्यार्थी र विद्यालयको सानो सहयोगले पीडित नागरिकको पीडामा थोरै भएपनि राहत मिल्ने अपेक्षा छ। विपत् प्रभावित क्षेत्रका नागरिकको राहत, उद्धार र पुर्नस्थापनामा थोरै भएपनि सहयोग मिल्नेछ।’ विपत्को यो समयमा सबैको सहकार्यले मात्र पीडितलाई माथि उठ्न सहयोग पुग्ने उनले बताए।  

विद्यालयले विपत्को यही अप्ठेरोलाई मध्यनजर गर्दै विद्यालयका विद्यार्थीले पोखराका विभिन्न स्थानमा प्राकृतिक विपत् र त्यस्ता विपत्बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न अवलम्बन गर्नुपर्ने उपायका बारेमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम पनि गरेको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए। पोखराका विभिन्न ठाउँमा गएर विद्यार्थीले चेतनामुलक कार्यक्रम गरेका थिए। त्यसमा स्थानीयले सहभागिता जनाएका थिए।

प्रकाशित: १९ भाद्र २०८३ १७:४२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App