सिरहाको लहान नगरपालिका-१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेका छन्। सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।
प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्।
कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो।
इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक (डिएसपी) कैलाश राईले गम्भीर अवस्थामा उद्धार गरिएका सात महिने शिशुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
उनका अनुसार, घटनास्थलको प्रारम्भिक अनुसन्धानमा कडा किसिमको विषादी प्रयोग भएको हुन सक्ने देखिएको छ। घटनाको कारण अझै स्पष्ट भइसकेको छैन। मृतक रन्जिताका श्रीमान् प्रविन चौधरी मजदुरीको सिलसिलामा बाहिर रहेको र हालसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धानलाई सूक्ष्म रूपमा अगाडि बढाएको छ। पोस्टमार्टम रिपोर्टपछि मृत्युको कारणबारे थप तथ्य खुल्ने डिएसपी राईले बताए।
प्रकाशित: १७ भाद्र २०८२ १५:१३ मंगलबार





