११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

आज २५ जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम, भोटेकोशी-त्रिशूलीमा उच्च सतर्कता

फाइल तस्बिर

बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूलीको बहाव अहिले सतर्कता तहभन्दा तल रहे पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

बुधबार रसुवाको भोटेकोशीमा बाढी आएको थियो। त्यसबाट अहिलेसम्म १६५ जनाको मृत्यु भइसकेको छ भने ५७९ पर्यटकसहित ८२६ जना सम्पर्कविहीन छन्।

बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा कन्काई, कमला, बबई, पूर्वी र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा तल छ। आगामी तीन दिन अधिकांश नदीमा बहाव सामान्यदेखि उल्लेख्य बढ्ने पूर्वानुमान छ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बाग्लुङ, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख र सुर्खेत तथा आसपासका स-साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।

भोलि र पर्सि गण्डकी तथा लुम्बिनी प्रदेशका केही स-साना नदीमा बहाव अचानक बढ्न सक्ने भएकाले नदी तटीय र होचा भू-भागका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। बाढीको जोखिम देखिए आवश्यक सामग्री तयारी अवस्थामा राखी सुरक्षित स्थानतर्फ जान तयार रहन महाशाखाले अनुरोधसमेत गरेको छ।

प्रकाशित: ११ भाद्र २०८३ १०:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App