११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

टिमुरेबाट ९५ जना नेपाली र २१ जना भारतीयको उद्धार

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोसीमा आएको बाढीबाट सिर्जित विपत्तिको मिलेर सामना गरिरहेको बताएका छन्। बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले  उद्धारको काम सुरु भइसकेको र बिहान ६ः३० बजेदेखि १५ भन्दा बढी उडान भएको बताएका छन्। 

नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको रेस्क्यु अपरेशनमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार भएको प्रधानमन्त्री शाहको भनाइ छ । उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। 

त्यसैगरी, टनेलबाट सात जना नेपाली नागरिकलाई समेत सफलतापूर्वक उद्धार गरिएको उनले बताएका छन्। प्रभावित क्षेत्रमा अत्यावश्यक सहयोग सामग्री द्रुत रूपमा पुर्‍याउने काम भइरहेको छ। प्रभावित स्थलमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम–ढुङ्गा काट्ने मेसिनलगायत सामग्री पठाइँदैछ। 

छिट्टै विपद् प्रभावित क्षेत्रमा मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको अस्थायी व्यवस्था गरिने उनले बताएका छन्। यसबाट सम्पर्क स्थापित गर्न सहयोग पुग्ने उनको भनाइ छ। 

नुवाकोटमा अस्थायी शिविर तयार भइसकेको र त्यहाँ खाना तथा पानीको व्यवस्था गरिएको प्रधानमन्त्रीले जानकारी दिएका छन्। ड्रोन सर्वेबाट प्रभावित सबै ठाउँको जानकारी सङ्कलन अन्तिम चरणमा पुगेको र यसले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताएका छन्। 

प्रकाशित: ११ भाद्र २०८३ १०:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App