आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी कालीकोट जिल्लामा नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कालीकोट र मुख्य निर्वाचन कार्यालयको संयुक्त आयोजनामा शुक्रबार मान्ममा निर्वाचन लक्षित नमुना मतदान आयोजना गरिएको हो।
निर्वाचनका दिन मतदाता तथा कर्मचारीले अपनाउनुपर्ने सम्पूर्ण प्रक्रिया व्यवहारमै अभ्यास गराउने उद्देश्यले नमुना मतदान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। विगतका निर्वाचनमा देखिएको मत बदरको समस्या न्यूनीकरण गर्नुकासाथै मतदातालाई सही तरिकाले मतदान गर्ने विधिबारे जानकारी गराउने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको जिल्ला निर्वाचन अधिकारी विश्व मंगल शर्माले बताए।
कार्यक्रममा प्रत्यक्षतर्फ र समानुपातिकतर्फ गरी दुई छुट्टाछुट्टै मतपत्रमा छाप लगाउने तरिका सिकाइएको थियो। मतदाताले मतपत्र कसरी बुझ्ने, स्वस्तिक छाप कहाँ र कसरी लगाउने,गोप्य कक्षमा प्रवेश गर्दा ध्यान दिनुपर्ने विषय,मतपत्र मोड्ने तरिका तथा मतपेटिकामा सुरक्षित रूपमा खसाल्ने प्रक्रिया चरणबद्ध रूपमा अभ्यास गराइएको हो।
नमुना मतदानलाई वास्तविक निर्वाचनकै स्वरूप दिन महिला, पुरुष, ज्येष्ठ नागरिक तथा अशक्त मतदाताका लागि छुट्टाछुट्टै तीन लाइनको व्यवस्था गरिएको थियो। मतदान अधिकृत,सहायक कर्मचारी तथा सुरक्षा निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
मतदानका क्रममा हुन सक्ने सम्भावित विवाद, मतपत्र च्यातिने वा बिग्रिने अवस्था, मतदाताको पहिचानसम्बन्धी जिज्ञासा, लाइन व्यवस्थापन तथा सुरक्षा समन्वयजस्ता विषयमा पनि अभ्यास गराइएको छ। साथै मतदान केन्द्रमा खटिने कर्मचारीहरूको जिम्मेवारी, भूमिकाविभाजन र आपसी समन्वयबारे समेत छलफल गरिएको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत टंकबहादुर थापाले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले निर्वाचनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन नमुना मतदान अत्यन्त उपयोगी हुने बताए। उनले मतदातालाई सही तरिकाले मतदानगर्न आग्रह गर्दै बदर मत न्यूनीकरणमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गरे।
निर्वाचनलाई शान्तिपूर्ण, सुरक्षित र विश्वसनीय बनाउन यस्ता अभ्यास कार्यक्रम प्रभावकारी हुने विश्वास सरोकारवालाहरूले व्यक्त गरेका छन्। जिल्ला निर्वाचन कार्यालय कालीकोटले यसअघि पनी मतादाता शिक्षा अनुगमनकर्ता, निर्वाचन प्रहरी र स्थानीय लक्षित नमुना मतदान अभ्यास समेत गरेको थियो।
कालीकोट जिल्लामा रहेका ९ वटा स्थानीय तहका ९ जना निर्वाचन सम्पर्क व्यक्तिले मतदाता शिक्षा अनुगमनकर्ताको तालिम लिएर ८२ वटै वडाका टोलटोलमा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा दिइरहेका छन्।
प्रकाशित: ८ फाल्गुन २०८२ १९:३८ शुक्रबार





