उदयपुरको त्रियुगा नदीमा माछा मार्न जाँदा बेपत्ता भएका एक पुरुष २६ घण्टापछि मृत अवस्थामा फेला परेका छन्।
चौदण्डीगढी नगरपालिका-६, सातधारेका ४५ वर्षीय दिलबहादुर राईको शव सोमबार दिउँसो नदीमा तैरिरहेको अवस्थामा भेटिएको हो।
इलाका प्रहरी कार्यालय, बेलटारका अनुसार राई आइतबार दिउँसो करिब १ बजे चौदण्डीगढी-९, भिमास्थित नदीमा माछा मार्न गएका थिए। माछा मार्ने क्रममा उनी एक्कासि नदीमा डुबेर बेपत्ता भएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
घटनालगत्तै आफन्त र प्रहरीले खोजी कार्य सुरु गरेका थिए। बेपत्ता भएको स्थानबाट करिब ६ किलोमिटर दक्षिण चौदण्डीगढी-५, सुन्दरपुर शिवाईमा स्थानीयले नदी किनारमा शव तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय, बेलटारका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) बबिन राईले स्थानीयको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको जानकारी दिए।
मृतकको पहिचानपछि शवलाई पोष्टमार्टमका लागि बेलटार नगर अस्पताल लगिएको छ। राईले माछा मार्न प्रयोग गरेको बल्छी, साइकलको चाबी र केही नगद भने नदी किनारमै फेला परेको थियो।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रकाशित: २ भाद्र २०८२ १९:२२ सोमबार





