२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

हराएकी बालिका साढे ६ महिनामा घर फर्किएपछि...

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीया बालिका बेपत्ता भइन्। स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन्।

त्यसपछि बालिकाको परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दियो तर तत्काल उनी फेला परिनन्। बालिका फेला नपरेपछि उनको परिवार चिन्तित थियो। ती बालिकालाई ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर परिवारसँग पुनर्मिलन गराएपछि अहिले उक्त परिवारमा खुसी छाएको छ।

किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया अगाडि बढाइएको बताए। “नेटवर्क सक्रिय बनायौँ, भारतीय एजेन्सी, प्रहरी, दूतावाससँग समन्वय गर्‍यौँ। उहाँहरूले सहयोग गर्नुभयो। वडा कार्यालयले आवश्यक कागजात छिटो पठाएपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालय र वडा कार्यालयको रोहवरमा बालिकालाई परिवारसँग पुनर्मिलन गराएका छौं”, उनले भने।

 बालिका भारतको विहारमा फेला परेकी जोशीले बताए। “नानीले नयाँ जीवन पाएकी छन् तर उनलाई भारतसम्म पुर्‍याउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ। ती व्यक्तिको खोजी भइरहेको छ”, उनले भने।

आफ्ना बालबालिकाको ख्याल गर्न र सचेत हुन उनले अभिभावकलाई आग्रह गरे। किन इन्डियाले हालसम्म हजारौँको उद्धार गरिसकेको उनले बताए।

लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आएकी सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर पुग्दा घरपरिवार हर्षित भएको बताइन्। “बालिका हराएपछि परिवार निकै पीडामा थियो तर अहिले यो परिवारमा खुसी छाएको छ”, उनले भनिन्।

नेपाल–भारत खुला सीमा भएकाले मानव बेचबिखनको जोखिम रहेको उनले बताइन्। राज्यले यो घटनाको अनुसन्धान गर्नुपर्नेमा उनले जाेड दिइन्। उनले यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रम र अभिभावक शिक्षा जरुरी रहेको बताइन्।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले किन इन्डियाको अथक प्रयासबाट बेपत्ता बालिका साढे ६ महिनापछि घर फर्किन सफल भएकी बताए। “बालिकाको परिवारसँगै वडा परिवार खुसीले गदगद् भएका छौं”, उनले भने।

प्रकाशित: २६ भाद्र २०८२ १२:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App