२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

उदयपुरमा कोदो उत्पादन बढ्यो

उदयपुरमा गत वर्षको तुलनामा यस वर्ष कोदो उत्पादनमा वृद्धि भएको छ।  

जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार यस वर्ष जिल्लामा कूल पाँच हजार ४५५ मेट्रिकटन कोदो उत्पादन भएको छ। गत वर्ष चार हजार ६८० मेट्रिकटन कोदो उत्पादन भएको थियो।

गत वर्षको तुलनामा यस वर्ष जिल्लाको पहाडी क्षेत्रमा वर्षा राम्रो हुँदा कोदो उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र उदयपुरका सूचना अधिकारी अनु बिसीले जानकारी दिइन्।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने ताप्ली, उदयपुर गढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकासहित त्रियुगा नगरपालिकाका पहाडी क्षेत्र, बेलका, चौदण्डी गढी तथा कटारी नगरपालिकाका पहाडी क्षेत्रमा कोदो खेती हुँदै आएको छ।

त्रियुगा नगरपालिका–१६ सुकौराका डम्बरबहादुर राईकाअनुसार गाउँमा धेरै जग्गा पाखोबारी रहेको र बाध्य भएर पनि कोदो खेती गर्नुपर्ने भएकाले उत्पादन राम्रो भएको हो। उनले युवा विदेश पलायन भइरहे पनि गाउँका बुढापाकाले कोदो खेतीमा निरन्तरता दिइरहेको बताएका छन्।

यस पटक पहाडी क्षेत्रमा वर्षा राम्रो भएको कारण कोदो उत्पादन वृद्धि भएको रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले बताए। कृषि ज्ञान केन्द्रकाअनुसार उदयपुरमा हाल दुई हजार ७६५ हेक्टर क्षेत्रफलमा कोदो खेती हुँदै आएको छ। रासस

प्रकाशित: २६ फाल्गुन २०८२ १२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App