२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै, याम्फुदिनको थुङगिम क्षेत्र उच्च जोखिममा

तल्लो क्षेत्रमा कम मात्र वर्षा भइरहेको ताप्लेजुङको उत्तरी क्षेत्रमा मनसुनजन्य विपद्का घटना बढ्दै गएका छन्।

मंगलबारबाट भइरहेको वर्षासंगै सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिनको कञ्चनजङ्घा टोल (थुङ्गिम क्षेत्र) उच्च जोखिममा देखिएको छ। काबेली खोला र तुम्याखोलामा आएको बाढीका कारण अति जोखिममा रहेका थुङ्गिम क्षेत्रका देउबहादुर लिम्बूको परिवारलाई सुरक्षित स्थानमा सारिएको छ।

वडाध्यक्ष कृष्णकुमार गुरुङले काबेलीखोला र तुम्याखोला वारिपारि बाढीको उच्च जोखिम रहेकाले प्रभावित क्षेत्रका नागरिकलाई संवेदनशील भइदिन आग्रह गरेका छन्। अति जोखिम क्षेत्रका बासिन्दालाई नजिकको सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण हुन र कुनै समस्या परे तत्कालै वडाका जनप्रतिनिधि, नजिकको प्रहरी कार्यालय र स्थानीय स्वास्थ्य संस्थामा सम्पर्क गर्न वडाध्यक्ष गुरुङले आग्रह गरेका छन्।

सिरिजङ्गा गाउँपालिकाका सूचना प्रविधि अधिकृत तथा विपद् सम्पर्क व्यक्ति (फोकल पर्सन) मनोज उप्रेतिले याम्फुदिन क्षेत्रको उक्त अवस्था बारे जिल्ला विपद् व्यवस्थापन समितिलाई जानकारी गराईसकेको बताए। सिरिजङ्गा गाउँपालिकाले याम्फुदिन क्षेत्रको पछिल्लो विपद् अवस्था बारे जिल्ला प्रशासन कार्यालयमार्फत सुरक्षा निकायका प्रमुखहरूलाई जानकारी गराइसकेको बताएको छ।

वडाध्यक्ष गुरुङलाई उदृत गर्दै पालिकाले जनाए अनुसार काबेली खोला कटानले कञ्चनजंघा मावि याम्फुदिन, वडा कार्यालय, स्वास्थ्य चौकी लगायतका भवनसहित पूरै बस्ती उच्च जोखिममा रहेको छ। उक्त क्षेत्रमा बसोबास गर्ने स्वास्थ्यकर्मी कर्मचारी लगायत अन्य स्थानीयवासीहरू सुरक्षित स्थानमा सारिएको र कतिपय आफैँ जोखिमको पूर्व मूल्याङ्कन गरी सुरक्षित स्थानमा सरेको वडाध्यक्ष गुरुङले जानकारी दिए।

मंगलबार राति फक्ताङलुङ गाउँपालिकाको वडा नं ५ र ६ जोड्ने तमोर नदीमाथि रानीपुलमा रहेको बेलिब्रिज बाढीले बगाएको छ। बेलिब्रिज बाढीले बगाएपछि उत्तरी क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्र लेलेप, ओलाङचुङगोला, टिपताला र घुन्सासहितका क्षेत्रमा जाने सवारी आवागमन तापेथोक वारि नै सीमित भएको छ।

प्रकाशित: ८ श्रावण २०८२ ०८:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App