नेपाली सेनाको सैन्य आधार तालिम सम्पन्न भएको छ।
देशका विभिन्न तालिम केन्द्र तथा युनिटहरूमा सञ्चालित ९ महिना लामो तालिमपछि दुई हजार १०२ पुरुष र तीन सय ४९ महिला गरी कुल दुई हजार ४५१ जना सैन्य जवानहरू दीक्षित भएका हुन्।
तालिम समापनको अवसरमा आज विभिन्न १९ स्थानमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा नवनियुक्त सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए।
मुख्य कार्यक्रम नुवाकोटको त्रिशूलीस्थित श्री नं. १ सैन्य तालिम केन्द्रमा आयोजना गरिएको थियो। सैनिक तालिम महानिर्देशक उपरथी ध्रुव प्रकाश शाहले कवाज निरीक्षण गरेका थिए। उनले तालिमका उत्कृष्ट शिक्षार्थीहरूलाई पुरस्कार समेत प्रदान गरे।
यसैगरी, अन्य तालिम केन्द्र, पृतना, बाहिनी तथा गण/गुल्महरूमा आयोजित कार्यक्रमहरूमा सम्बन्धित पृतनापति, वाहिनीपति लगायतका वरिष्ठ अधिकृतहरूले कवाज निरीक्षण गरी उत्कृष्ट जवानहरूलाई पुरस्कृत गरेका थिए।
प्रकाशित: २७ आश्विन २०८२ १६:०० सोमबार





