काठमाडौं महानगरपालिकाले ‘जेन-जी’ प्रदर्शनका क्रममा सडकमा देखिएको फोहोर हटाउन थालेको छ । भग्नावशेष हटाउन थालेको छ । तर सीसाका फोहोर भने नहटाउने जनाएको छ ।
फोहर तथा भग्नावशेष हटाउने क्रममा ब्रुमर, फोहर व्यवस्थापन र फोहर पन्छाउनेसहित १०० गाडी परिचालन गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरको वातावरण विभाग प्रमुख सरिता राईका अनुसार कालीमाटी, टेकु, त्रिपुरेश्वर, थापाथली, माइतीघर, बानेश्वरलगायत स्थानका सडक सफा गर्ने काम भइसकेको छ र अन्य केही स्थानको सडक सफा गर्ने काम जारी छ। उनले भनिन्, ‘हाल महानगरको सफाइ टोलीले कार्यालय र व्यक्तिको घर भने सफा गरेको छैन । सडक सफा गर्ने काम मात्र भइरहेको छ ।’
त्यसैगरि जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट उपत्यकास्थित प्रहरी कार्यालयमा उल्लेखनीय क्षति पुगेको र ती स्थानसहित व्यक्तिको घर, सार्वजनिक भवन तथा कार्यालय सफा गर्न अझै समय लाग्ने विभाग प्रमुख राईले बताइन् ।
यसैबीच, महानगरपालिकाले सीसाजन्य तथा हानिकारक फोहरलाई व्यवस्थापन गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ ।

प्रकाशित: २७ भाद्र २०८२ १७:१० शुक्रबार




